आफ्नै घर नजिकै दुग्ध चिस्यान केन्द्र स्थापना भएपछि किसानले उत्पादन गरेको दूध खेर नजाने भन्दै पशुपालक किसान हर्षित भएका हुन् ।
किसानले आफूलाई आवश्यक दूध घरमा राखेर बाँकी सबै बिक्री गर्न पाउने भएका छन् । दूध भन्डारणका लागि चिस्यान केन्द्र नहुँदा यो गाउँका किसान उज्यालो नहुँदै दूध बोकेर शुक्रबारे बजारतिर कुद्न बाध्य थिए । अब गाउँमै खुलेको दूध चिस्यान केन्द्रमा जम्मा गरेर बिक्री गर्न सहज भएको किसानले बताएका छन् ।
पशुपालक किसानलाई लक्ष्य गरेर जिल्लामा सन्चालित उन्नति परियोजनाको सहयोगमा स्थानीय सिंहदेवी पशुपालक कृषक सहकारी संस्थाले चिस्यान केन्द्र स्थापना गरेको हो । चिस्यान केन्द्रमा स्थानीय किसानको समेत लगानी रहेको छ । गाउँका पशुपालक किसानले पाँच वर्षअघि नै गाउँमै सहकारी खोलेका थिए ।
पशुपालन र उत्पादित दुग्धजन्य वस्तुसँग सम्बन्धित समस्या उत्पन्न हुँदा सामूहिकरुपमा सुल्झाउने गरी स्थापना भएको सहकारीले अहिले किसानकै हितका लागि चिस्यान केन्द्र खोलेको सहकारीका अध्यक्ष सूर्यबहादुर कार्कीले बताए ।
दूध चिस्यान केन्द्र सन्चालनका लागि कूल रु २१ लाख खर्च भएको छ । त्यसमध्ये रु १० लाख ५२ हजार उन्नति परियोजनाले अनुदान सहयोग गरेको अध्यक्ष कार्कीले बताए । बाँकी रु १० लाख ४८ हजार भने किसानबाटै जम्मा भएको रकम लगानी गरेर सहकारीले चिलिङ फ्याट नाप्ने मेसिनसहितको चिस्यान केन्द्र स्थापना गरेको उनले बताए ।
यहाँका किसानले गाईपालन गर्ने, अनि दूध बेचेरै आम्दानी गर्ने र आर्थिक लाभ लिने ध्येयले जिल्ला बाहिरबाट उन्नत जातका गाई खरिद गरेर ल्याएका छन् ।
किसानले चार वर्षअघि नै धनकुटा र इलामका विभिन्न ठाउँबाट उन्नत जातका गाई खरिद गरेर ल्याएका र अहिले गाउँका अधिकांशले गाईपालन गरिरहेको सहकारीका व्यवस्थापक मनबहादुर कार्कीले बताए । ‘यसअघि किसानले उत्पादन गरेको दूध बोकेर शुक्रबारे चिस्यान केन्द्र पुर्याउनु पर्थ्यो, अब यही जम्मा हुन्छ’, व्यवस्थापक कार्कीले भने ।
सहकारीमा फाक्चामारा गाउँमा गाई र भैँसी पालेर दूध उत्पादन गर्ने ५२ घरधुरी किसानहरु आवद्ध छन् । यसबाहेक यही गाउँका सगरमाथा र जनजागरण दुग्ध उत्पादक सहकारी संस्थाहरुले पनि उक्त दुग्ध चिस्यान केन्द्रमा दूध जम्मा गर्न थालेका छन् । अहिले दैनिक एक सयभन्दा बढी किसानले दूध विक्री गर्दै आएका व्यवस्थापक कार्कीले बताए ।
एक जना किसानले नै दैनिक २० लिटरसम्म दूध विक्री गर्ने गरेका छन् ।
किसानले हरेक दिन विहान ६ बजेदेखि ९ बजेसम्म केन्द्रमा दूध संकलन गर्छन् । किसानले दूधको प्रतिलिटर ३५ देखि ४८ रुपैयाँसम्म पाउँछन् । यहाँ जम्मा भएको दूध धनकुटाको हिले, धरान र विराटनगरसम्म पुग्ने गरेको छ । रासस









प्रतिक्रिया दिनुहोस्