Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सफाइ महाअभियान : उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन


0
Shares

वाग्मती सफाइ महाअभियानको २३६ औं हप्तामा शनिबार पशुपतिनाथ राममन्दिर अघिको वाग्मती नदी किनार र कैलाश डाँडामा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

महानगरपालिकाको फोहर ओसार्ने सवारी कम भएकाले सफा गरिएको सयौं मेट्रिक टन फोहर पशुपति क्षेत्रमै थुपारिएको छ । पशुपति क्षेत्रमा बाला चतुर्दशीका अवसरमा शुक्रबार बिहान छरिएको शतबीज र त्यसको अघिल्लो दिन महादीप दान गर्न आएका लाखौं भक्तजनका कारण फोहर बढी भएको सफाइ महाअभियानले जनाएको छ ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ६०० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी एवं अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सन्चालक समिति सदस्य माला खरेलले जानकारी दिइन् ।

सफाइमा अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकाललगायत अभियन्ताको सक्रियता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको १९६ औं हप्तामा शनिबार हनुमान घाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाका गरी १०० जना भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइको १९३ औं हप्तामा शनिबार रातोपुल–कालोपुल–सिफल हुँदै गौशालासम्म सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताए । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा समाज, वातावरण संरक्षण अभियान र प्रशिद्धी कला समूहलगायतको संस्थागत सहभागिता थियो ।

महानगरपालिका वडा नम्बर– ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियानकर्मीको सफाइ अभियानमा सक्रियता थियो ।

विष्णुमती सफाइको १६४ औं हप्तामा टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाको मनमैजुस्थित नयाँ पुलमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २५० जना भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए ।

मनोहरा नदी सफाइको ३४ औं हप्तामा शनिबार हनुमन्ते र मनोहरा दोभानस्थित नरेफाँट क्षेत्र वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिका– वडा नम्बर ३२ का ८७ वर्षीय वृद्ध गणेश लम्साललगायत १५० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।

मंसिर ५ गते मंगलबार अभियानले कोटेश्वर चोकमा पनि सफाइ गर्ने अभियानकर्मी चन्द्र दंगालले राससलाई जानकारी दिए । चक्रपथ सफाइको ३२ औं हप्तामा माछापोखरीदेखि गोंगबु चोकसम्म सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ग्रिनहिल सिटी अस्पतालको संयोजनमा भएको सफाइमा ३५० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।

सफाइमा सशस्त्र र नेपाल प्रहरीलगायत स्थानीय संस्थाको सहभागिता रहेको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।

यसैगरी, मीनभवन आलोकनगर सफाइको ३२ औं हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेलले बताइन् । सफाइमा ५० भन्दा बढी महिलाको सहभागिता थियो ।

त्यसैगरी, चक्रपथ बाफल खन्ड सफाइको १४ औं हप्तामा कलंकीचोकमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीय संघ संस्थाको पनि संस्थागत सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।

इन्द्रमती सफाइको १२ औं हप्तामा काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकीमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ । फलस्वरुप अहिलेसम्म ४२ स्थानमा सफाइ भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ । रासस