
पोखरा, पुस १३ । ‘सडकमै खाऔं, सडकमै नाँचौं, सडकमै रमाऔं भन्ने मूलनाराका साथ पोखराको फेवाताल किनारमा शुक्रबारदेखि २०औं पोखरा सडक महोत्सव सुरु भएको छ ।
महोत्सवको गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
उनले सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल पार्न पर्यटन व्यवसायीहरुको साथ र सहयोग आवश्यक रहेको बताए ।
उनले २०२२ भित्र २० लाख पर्यटक भित्र्याउने गन्डकी प्रदेश सरकारको योजना रहेको बताए ।
उनले पर्यटकका लागि चाहिने आवश्यक पूर्वाधार निर्माणका लागि लगानी गर्न आग्रह पनि गरे ।
नेपाल आएका पर्यटकमध्ये ४० प्रतिशत पर्यटक पोखरा आउने गरेका छन् ।
मुख्यमन्त्री गुरुङले पर्यटकहरु लागि आवश्यक होटल, सडक, विमानस्थललगायतका क्षेत्रमा सरकारले पूर्वाधार बनाइरहेको बताए ।
सडक महोत्सव पोखराकोमात्रै नभइ नेपालकै ‘ब्रान्ड’ भएको उनको भनाइ थियो ।
उनले गन्डकी प्रदेश पर्यटकीय राजधानी घोषणा गर्न संघीय सरकारसँग सिफारिस गरेकोसमेत बताए ।
पोखरा र यस क्षेत्रको कला, संस्कृति, भेषभूषा जगेर्ना गर्दै आन्तरिक एवं बाह्य पर्यटक प्रवर्धनमा सघाउ पुर्याउने उद्देश्यले आयोजित महोत्सव यही पुस १७ गतेसम्म चल्नेछ ।
महोत्सव अवधिभरका लागि लेकसाइड क्षेत्रको साढे तीन किलोमिटर क्षेत्रलाई दुलहीझैं सिँगारिएको छ । सो क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।
अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा आयोजित महोत्सव अवधिभर लेकसाइड क्षेत्रका १०० बढी रेस्टुरेन्ट तथा बारहरु सडकमै उतारेर सडकबाट सेवा दिनेछन् ।
महोत्सवमा एक अर्ब रुपैयाँभन्दा बढीको बढीको कारोबार हुने अनुमान आयोजकको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्