Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


चितवन हात्ती महोत्सवः हात्ती फास्टवाक र छावाको फुटबलले थप्यो रौनकता


0
Shares

चितवन, पुस १३ । चितवनको पर्यटकीय क्षेत्र सौराहामा जारी चितवन हात्ती महोत्सवअन्तर्गत् आयोजित हात्ती फास्टवाकमा शुक्रबार थप ८ ओटा हात्ती दोस्रो चरणमा प्रवेश गरेका छन् ।

यसअघि, चार हात्ती दोस्रो चरणमा पुगिसकेका थिए ।

शुक्रबार बाघमारा चौरमा भएको फास्टवाकमा समूह ‘बी’बाट बिजुलीकली, एकताकली, बम्बोजकली र जानकीकली क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो हुँदै दोस्रो चरणमा पुगेको महोत्सवका प्रवक्ता दीपक भट्टराईले जानकारी दिए ।

यस्तै, समूह ‘सी’बाट समृद्धिकली, अनारकली, आशाकली र चम्पाकली क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो हुँदै अघिल्लो चरणमा पुगेको भट्टराईले जानकारी दिए । फास्टवाकमा कुल १५ हात्ती सहभागी थिए ।

हात्तीपोलोमा एमइ टुर्स एन्ड ट्राभल विजयी

शुक्रबार नै भएको हात्तीपोलोमा एमइ टुर्स एन्ड ट्राभल विजयी भएको छ ।

एमइले टुर्सले मेगा बैंकमाथि ५–४ गोलको कठिन जित निकालेको नजिता प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिए ।

हात्तीपोलोअन्तर्गत् शनिबार होटल सेभेन स्टार र एनआरएन हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

छावाहरुबीचको फुटबलमा एनआइसी एसिया बैंकको रोमान्चक जित

शुक्रबार हात्तीका छावाहरुबीचको फुटबलमा एनआइसी एसिया बैंकले रोमान्चक जित हासिल गरेको छ ।

निर्धारित् समयमा बराबर भइ पेनाल्टीमा पनि बराबर हुँदा टसबाट गरिएको निर्णयमा एनआइसी एसिया बैंक विजयी भएको नजिता प्रकाशन समितिका संयोजक रेग्मीले बताए ।

निर्धारित् समयमा दुवै तर्फबाट २–२ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा पनि २–२ गोल भएपछि खेलको निर्णय टस गरेर गरिएको थियो ।

शनिबार हात्ती सुन्दरी प्रतियोगिता

हात्ती महोत्सवको चौथो दिन शनिबार हात्ती सुन्दरी प्रतियोगिता हुने आयोजक क्षेत्रीय होटल संघका अध्यक्ष एवं महोत्सवका संयोजक सुमन घिमिरेले जानकारी दिए ।

शनिबार नै हात्ती सुन्दरीको फाइनल हुनेछ ।

क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा १५औं संस्करणको हात्ती महोत्सव सौराहामा जारी छ ।