काठमाडौं, पुस १३ । गत मंसिर २९ गतेदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समितिको बैठक शुक्रबार सकिएको छ ।
अध्यक्षद्वयको प्रतिवेदनलाई परिमार्जनसहित पारित गरिएको भनिएपनि के–के विषयमा परिमार्जन भयो ? भन्ने स्पस्ट छैन ।
बैठककाक्रममा पार्टी र सरकारका विषयमा सदस्यहरुले उठाएको प्रश्नको पनि नेतृत्वले स्पस्ट र चित्तबुझ्दो जवाफ दिन सकेन ।
नेकपाको स्थायी समिति बैठक बसेदेखि नै चर्चित रह्यो । पार्टीका प्रभावशाली नेता वामदेव गौतमले अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनमा फरक मत राख्दै छुट्टै प्रतिवेदन पेस गरेपछि यसले नेकपाभित्र ठूलै खैलाबैला उत्पन्न गर्यो ।
वामदेवको प्रतिवेदनमा सरकार धेरै विषयमा असफल भएकोदेखि पार्टी एकतालाई नटुंग्याएको भन्दै कडारुपमा आलोचना गरिएको थियो ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको निकट मानिने गौतम नै सरकार र पार्टी सन्चालनको शैलीलाई लिएर विरोधमा उत्रिएपछि बैठकमा सदस्यहरुबीच चर्काचर्की नै भयो ।
गौतम र उनीनिकट केही केन्द्रीय सदस्यहरुले नेतृत्वको चर्को आलोचना गरेका थिए । त्यसमा माधव नेपाल पक्षको साथ थियो ।
पार्टीभित्र गुटबन्दी बढेको र त्यसको नेतृत्व ओलीले गरेको उनीहरुको आरोप थियो ।
अहिलेकै नेतृत्वले पार्टीलाई जोगाउन नसक्ने भन्दै उनीहरुले ओलीकै कारणले पार्टी क्षयीकरणको दिशामा गएको आरोप लगाए ।
त्यसो त बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सरकार र पार्टी सन्चालनको विषयमा अध्यक्षद्वयको आलोचना गरेका थिए ।
नेता माधवकुमार नेपालदेखि झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसम्मले नेतृत्वले पार्टीलाई विधिपूर्वक नचलाई एकलौटी ढंगले अघि बढेको भन्दै नेतृत्वको आलोचना गरे ।
सरकार सन्चालनको शैली पनि स्थायी समिति बैठकमा ठूलै बहसको विषय बन्यो ।
भ्रस्टहरुलाई राजनीतिक नियुक्ति दिएकोदेखि मन्त्रीहरुको कार्यशैली पनि आलोचनाको तारो बन्यो ।
केही सदस्यहरुले मन्त्रिमन्डल पुर्नगठनको माग पनि गरे ।
९ महिनासम्म पनि सरकारले कुनै गति र लय समात्न नसकेको भन्दै सरकार अलोकप्रिय बनेको जिकिर गरेका थिए ।
एसिया प्यासिफिक सम्मेलनलाई लिएर पनि सदस्यहरुले सरकारलाई प्रहार गर्न छोडेनन् । सम्मेलनका विषयमा सरकारले आत्मालोचनासहित माफी माग्नुपर्ने माग राखेका थिए । ओली पक्षधरले भने त्यसको बचाउमा आफ्नो समय खर्चेको थियो ।
सरकार र पार्टी सन्चालनका विषयमा लगाइएका आरोप पूर्वाग्रही र गुटगत धारणा भएको भन्दै उनीहरुले प्रतिवाद गरेका थिए । नेतृत्वले अहिलेसम्म गरेको काम र निर्णयहरु ठीक भएको उनीहरुको भनाइ थियो ।
नेतृत्वलाई खुइल्याउनमात्र आरोप लगाइएको भन्दै पार्टीलाई पार्टीभित्रैबाट कमजोर बनाउने खेल सुरु भएको गम्भीर आरोप ओली पक्षले लगायो ।
बैठकमा ओलीको आलोचनामा तत्कालीन नेकपा एमालेकै नेताहरु बढी सक्रिय देखिए । तत्कालीन माओवादी केन्द्रतर्फका नेताहरु भने मध्यमार्गमा नै हिँडेकोजस्तो देखियो ।
एकताको ८ महिनापछि बसेको बैठकमा नेकपा नेताहरूले मन फुकाएर धारणा राखे । नेतृत्वले त्यसलाई गम्भीरतापूर्वक सुन्यो पनि । तर, सबै सदस्यहरुले बोलीसकेपछि अध्यक्षद्वयको जवाफ भने धेरैले रुचाएनन् ।
अध्यक्ष ओलीले सरकार र पार्टी सन्चालनको शैली ठीक भएको दाबी गरेका थिए ।
सरकारको बचाउमा आउनुपर्नेमा विपक्षीलेभन्दा कडा टिप्पणी पार्टीभित्रैबाट भएको उनको भनाइ थियो ।
स्थायी समितिको यो बैठकले नेतृत्वसामु धेरै प्रश्न तेर्स्याएको छ । जसको जवाफ चित्तबुझ्दोरुपमा आइसकेको छैन ।
नेकपाभित्र सल्किएको भुसको आगो यो बैठकले पनि निभाउन सकेन । मन माझ्नेभन्दा पनि मन भाँचने काम भएको टिप्पणी यतिबेला सुनिन थालेको छ ।









प्रतिक्रिया दिनुहोस्