१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


झापाको मेचीनगरमा आगलागी, २२ घरटहरा नष्ट


0
Shares

झापा, पुस १३ । झापाको मेचीनगर–६ स्थित साठीबिघा भन्ने ठाउँमा आगलागी हुँदा २२ वटा घर तथा टहरा जलेर नष्ट भएका छन् । गएराति करिब ८ बजेबाट सुरु भएको आगलागी दमकलको सहयोगले नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट १६ वटा टहरा र ६ वटा टिनका घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । आगलागीबाट डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

पुरानो भन्सार क्षेत्रमा रहेको बधशाला नजिकै स्थानीय छविलाल आङदाम्बेको घरबाट आगो लाग्न सुरु भएको प्रहरीले जनाएको छ । बिजुली गएपछि आङदाम्बेले बालेको मैनबत्ती ग्यास सिलिण्डर जोडिएको पाइपमा सल्किएपछि आगलागी सुरु भएको बताइएको छ । आगलागीबाट घर तथा टहराका साथै होटल, कपडा पसल, दूध डेरी र किराना पसल पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

तीनवटा बारुणयन्त्रसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रण लिइएको हो ।