
काठमाडौं, पुस १२ । सत्तारुढ दल नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी सन्चालनका विषयमा उठेका प्रश्नहरुको जवाफ दिएका छन् ।
पार्टी मुख्यालय धुम्बाराहीमा बिहीबार बसेको बैठकमा उनले आफूले नियतबस कुनै निर्णय नगरेकाले आत्मालोचना नगर्ने बताए ।
अध्यक्ष ओलीले बैठकमा भएको छलफलले पार्टी एकतालाई अझ उन्नतस्तरको एकताका लागि बलियो आधार तयार गरेको बताए ।
उनले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता ऐतिहासिक गौरवको विषय भएको भन्दै यसमा दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाए ।
उनले पार्टी र सरकारले देशको भौगोलिक अखन्डता, राष्ट्रिय सार्वभौमसत्ता, राष्ट्रियहीत र स्वाभिमानलाई थप मजबुद् बनाउँदै अघि बढ्ने बताएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा अध्यक्ष ओलीले सांगठनिक एकीकरणका सम्पूर्ण काम यही पुस मसान्तभित्रमा सकिनेगरी काम गर्ने योजनासहितका प्रस्ताव गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।
गएको मंसिर २९ गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले प्रस्तुत् गरेको संयुक्त राजनीतिक प्रतिवेदनमाथिको छलफलमा ४६ जना स्थायी कमिटी सदस्यहरुले आफ्ना विचार राखेका छन् ।
बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी र सरकार सन्चालनप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको आलोचना गरेका थिए ।
बैठक शुक्रबार बिहान ८ बजे फेरि बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्