
काठमाडौं, पुस १२ । नेपाललाई आकर्षक लगानी गन्तव्यकारुपमा प्रवर्धन गर्ने उद्देश्यले सरकारले आगामी मार्च २९ र ३० अर्थात् चैत १५ र १६ मा लगानी सम्मेलन गर्ने भएको छ ।
कृषिको व्यवसायीकरण, ऊर्जा, सडक, रेल हवाई, औद्योगिक र सूचना–प्रविधिका क्षेत्रलाई प्राथमिकतामा राखेर सम्मेलन गर्न लागिएको बिहीबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको दीर्घकालीन विकासको सोचलाई उपलब्धिमा रूपान्तरण गर्न सम्मेलन गर्न लागिएको बताए ।
सम्मेलनबाट नेपालको तुलनात्मक लाभ भएका वस्तु तथा सेवाको बजार प्रवर्धन गर्नसकिने उनको भनाइ थियो ।
निर्यातको सम्भावना रहेका क्षेत्रमा निजी लगानी प्रोत्साहन गरिने पनि उनले बताए ।
वि.सं. २०७३ सालमा भएको लगानी सम्मेलनको उपलब्धिबारे जानकारी गराउनु पनि सम्मेलनको उद्देश्य रहेको बताइएको छ ।
सम्मेलनमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लगानीकर्ता, वित्तीय संस्था, गैरआवासीय नेपाली र विषयगत विज्ञहरु सहभागी हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्