Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


सौराहामा हात्तीहरुको पिकनिक


0
Shares

चितवन, पुस १२ । चितवनको पर्यटकीयस्थल सौराहामा जारी ‘१५औं चितवन हात्ती महोत्सव’अन्तर्गत् बिहीबार हात्तीहरुको पिकनिक (वनभोज) गरिएको छ ।

बाघमारा मध्यवर्ती वनको चौरमा जारी महोत्सवमा ७९ हात्तीहरुलाई मनपर्ने परिकार खुवाएर वनभोज गरिएको हो ।

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले हात्तीलाई मनपर्ने परिकार खुवाएर वनभोजको उद्घाटन गरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जका १८ र सौराहाका व्यवसायीका ६१ ओटा हात्ती वनभोजमा सहभागी भएको क्षेत्रीय होटल संघ चितवन सौराहाका सचिव दामोदर रेग्मीले जानकारी दिए ।

बिहीबार हात्तीलाई सफारीमा नपठाइ सामूहिकरूपमा भोजन गराइएको उनले बताए ।

सयौंको संख्यामा हात्ती महोत्सव हेर्न आएका दर्शकले निकै रमाइलोसित हात्तीहरुको वनभोज कार्यक्रम हेरेका थिए ।

वनभोजमा हात्तीका लागि उखु, केरा, सुन्तला, बन्दा, काउली, कुचीलगायतको व्यवस्था आयोजकले गरेको थियो ।

हात्ती बाथिङ प्रतियोगिता

महोत्सवअन्तर्गत् बिहीबार हात्ती बाथिङ प्रतियोगितासमेत सम्पन्न भएको छ ।

बाथिङ प्रतियोगितामा पूजाकली पहिलो, गुलाबकली दोस्रो र वसन्तीकली तेस्रो भए ।

बाथिङ प्रतियोगितामा पाँच हात्तीको सहभागिता रहेको थियो ।

मैत्रीपूर्ण हात्तीपोलो

बिहीबारै एनआरएन हङकङ र युनाइटेड हात्ती सहकारी संघबीच मैत्रीपूर्ण हात्तीपोलो खेल सम्पन्न भएको छ ।

संरक्षणमूलक कवि गोष्ठी

बिहीबार नै महोत्सवमा संरक्षणमूलक कवि गोष्ठीसमेत आयोजना गरिएको थियो । कवि गोष्ठीमा विभिन्न जिल्लाका १५ जना कविले कवितावाचन गरेका थिए ।

सांगीतिक कार्यक्रम

बिहीबारै पशुपति शर्मा, मिलन लामालगायतका चर्चित कलाकारहरुले सांगीतिक कार्यक्रममार्फत् आफ्ना प्रस्तुति दिए ।

शुक्रबारको आकर्षण

महोत्सवमा शुक्रबार हात्ती छिटो हिँड्ने (हात्ती वाक) प्रतियोगिता, हात्तीको छावाको फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीपोलो, हात्ती शृंगार प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम रहने आयोजक क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

बुधबार सुरु भएको हात्ती महोत्सव यही पुस १५ सम्म चल्नेछ ।