
सरोज अधिकारी र दिलिप पोखरेल (इमेज)
काठमाडौं, पुस १२ । संसदको हिउँदे अधिवेशन बुधबारदेखि सुरु भएको छ ।
विधेयक अधिवेशनकारुपमासमेत लिइने अधिवेशनको पहिलो दिन शीर्ष नेताहरुबीच जुन प्रकारको आरोप–प्रत्यारोप र तिक्तता देखियो, यसले अधिवेशनका बाँकी दिन त्यति सहज छैन भन्ने संकेत गरेको छ ।
फागुनको पहिलो हप्तासम्म संविधानले व्यवस्था गरेका सबै कानुन परिमार्जन तथा नयाँ बनाइसक्नुपर्नेछ । संसदको यो अधिवेशनको मुख्य काम पनि त्यही हो ।
सरकारी आँकडाअनुसार अझै झन्डै ३०० कानुन परिमार्जन तथा बनाउनुपर्नेछ ।
यसका लागि राजनीतिक दलहरुबीच उच्चस्तरको सहमति कायम भइ संसद नियमित सन्चालन गर्नुपर्ने हुन्छ । जुन कुराको संकेत संसदमा बोल्नेक्रममा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बुधबार नै गरेका छन् ।
तर, अन्य विपक्षीको प्रारम्भिक संकेत हेर्ने हो भने संसद त्यति सजिलै सन्चालन हुने अवस्था देखिँदैन ।
सरकारका दैनिक क्रियाकलापदेखि कानुन निर्माण तथा विकास र समृद्धिकाबारेमासमेत विपक्षीको चासो निकै गहिरो देखिएको छ ।
अन्य समयभन्दा निकै सामान्य शैलीमा संसदलाई सम्बोधन गरेका नेकपा अध्यक्ष दाहालले सरकारले सबै काम राम्रो गरेको र काठमाडौंसमेत धुलोमुक्त हुन लाग्यो भनेर सरकारकाबारेमा राम्रै प्रशस्ती गरे ।
बुधबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष दाहालपछि बोल्ने सांसदहरुले सरकारको कडा आलोचना गरे ।
यतिसम्मको टिप्पणी गरियो ‘सरकार आफैं नगरेका काम गरें भनेर ठगको व्यहार देखाउने’देखि ‘सुविधा-सम्पन्न महलमा बस्दा सबै ठीक देखिने दृष्टि भ्रम सरकारलाई परेको’ भन्न कसैले छुटाएनन् ।
सरकारकाबारेमा कडा टिप्पणी गर्न नसकेको भनेर आलोचित बनेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारप्रति निकै आक्रामक देखिए ।
कमैमात्र त्यस्तो शैलीको भाषण गर्ने देउवाले सामान्य घटनामा पनि अब सरकारलाई ‘नछोड्ने’ चेतावनी दिए ।
उनले ‘वाइडबडी’ विमानकाबारेमा प्रस्ट जवाफ नआए त्यसै नछोडिने त बताए नै कर्मचारीलाईसमेत प्रभाव पार्ने गरी ल्याएको अध्यादेशको खिलापमा बोले ।
त्यतिमात्र होइन, अध्यादेशकै विरोधमा विपक्षीले बुधबारको बैठक केही समय अवरोध पनि गरे । अबका दिनका संसद सजिलै अघि बढाउन विपक्षी तयार छैन भन्ने यो संकेत पनि हो ।
सरकारको कार्यशैलीप्रति नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले निकै तीतो टिप्पणी गरे ।
सरकारलाई समर्थन गरिरहेको दल राजपा नेपालले पनि सरकारप्रति तिखो टिप्पणी गरेको छ ।
सरकारको कुनैपनि काम सही बाटोमा नरहेको भन्दै राजपा अध्यक्षमन्डलका संयोजक राजेन्द्र महतोले सरकारले मुलुकलाई कम्युनिस्टीकरण गर्न खोजेको आरोप लगाए ।
हिउँदे अधिवेशनको पहिलो बैठकमा विपक्षीले देखाएको व्यवहारले आफ्नै पार्टीका नेताहरुको आलोचना खेप्दै आएको सरकारलाई जोगिएर अघि बढ्न निकै कठिन देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्