बागलुङ नगरपालिका–१ स्थित बाँगेचौर खेल मैदानको किनारमा अस्थायी घरटहरामा बस्दै आएका उनीहरु २६ वर्ष वितिसक्दा पनि स्थायी बास नपाउँदा निराश बनेका हुन् ।
बागलुङ–पोखरा सडक निर्माणका क्रममा विस्थापित बनेका माझीहरुले दशैँमा पाउने भनिएको घर अझै पाउन नसकेका हुन् ।
बागलुङ नगरपालिका–१ स्थित बाँगेचौर खेल मैदानको किनारमा २६ बर्षदेखि उनिहरु अस्थायी घरटहरामा बसिरहेका छन् ।
माझिहरुको लागि निर्माण हुँदैं गरेको बस्तीको सम्झौतामा शौचालय, खानेपानी र विद्युत जडान गर्नुपर्ने जस्ता महत्वपूर्ण संरचना नै छुटेपछि माझीहरु फेरी अलपत्र पर्ने बताउँछन् ।
गतबर्ष बागलुङ नगरपालिकाले नगरविकास कोष र माझी बस्ती व्यवस्थापन समिति बीच बस्ती सार्नको लागि घर बनाउने सम्झौता गरेको थियो ।
सम्झौतामा २०७४ सालको दशै अगाडीनै नयाँ घरमा दशैं मनाउने सपना समेत बाँडिएको थियो । तर माझीहरुले अहिलेसम्म पनि नयाँ घर पाउँन सकेका छैनन् ।
बागलुङ नगरपालिकाले माझीहरुका लागि घर निर्माण भइसकेको जनाए पनि वस्ती व्यवस्थापनको लागि सरकारी कार्य प्रक्रियामा ढिलाई भएको कारणले बस्ती हस्तान्तरणको लागि सम्झौता भएको समय भित्र बस्ती हस्तान्तरण गर्न नसकिएको हो ।
लामो संघर्ष र प्रयास पछि बस्ती निर्माणका लागि आवश्यक बजेट र जग्गाको व्यवस्थापन भएपछि गत पुसमा बागलुङ नगरपालिका र मुक्तिनाथ विएण्डबी त्रिशक्ति निर्माण कम्पनीबीच एक वर्षमा १४ घर निर्माण गर्नेगरी सम्झौता भएको थियो ।
घर निर्माणको कार्य अन्तिम चरणमा पुगे पनि सरकारी कार्य र प्रक्रिया झन्झटिलो भएका कारण बस्ती व्यवस्थापनका कार्यमा ढिलाई भएको स्थानीय माझी बस्ती व्यवस्थापन समन्वय समितिले जनाएको छ ।
बस्ती निर्माणको पुरानो सम्झौतामा कमजोरी भएकाले नगरविकास कोषमा सम्झौता सच्याएर पठाएको भन्दैं निर्णय आउना साथ काम शुरु गर्ने बागलुङ नगरपालिकाले जनाएको छ ।
करिब ८२ लाखको लागतमा ‘ब्लक’ र जस्तापाताको प्रयोग गरी माझीहरुका लागि बाग्लुङ नगरपालिका-१ का खनियाघाटमा घर बनाईएको छ ।
एक करोड १३ लाख रुपैयाँको लागत अनुमान गरिए पनि ठेकेदार कम्पनीले ८२ लाख ३० हजारमा बनाउने जिम्मा लिएको थियो ।
नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत ऋण र १० प्रतिशत स्थानीय श्रमदानमा बस्ती निर्माण भैरहेको छ ।
सम्झौता अनुसारका १२ वटा घरहरु निर्माण भईसकेका छन् भने २ वटा घर निर्माण हुँदै छन् ।
निर्माण सम्पन्न भएका घरहरुमा फिनिसिङ, विद्युत र पानीको काम बाँकी रहेको बताइएको छ । बस्तीमा १ सामुदायिक भवन पनि बनाईने नगरपालिकाले बताएको छ ।
(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)










प्रतिक्रिया दिनुहोस्