Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


वीरगन्ज भन्सार कार्यालयको अवैध कार्यले नेपाली व्यवसायी मारमा


0
Shares

भारतको विभिन्न ठाउँबाट रक्सौल नाका हुँदै नेपाल भित्रिने मालवाहक सवारी साधनको भार क्षमतमा बढी भए पनि भन्सार कार्यालयले आँखा चिम्लेर जाँचपास गरी छुटाइदिने गरेको छ ।

क्षमताभन्दा बढी सामान बोकेका मालवाहक सावारीसाधनको भन्सार नगर्ने कानूनी व्यवस्था भए पनि उक्त कानूनलाई थाती राखी भन्सार कार्यालयले धमाधम अवैध कार्यलाई वैधानिकता दिँदै आइरहेका कारण नेपाली व्यवसायी मारमा परेका छन् ।

यातायात व्यवस्था विभागअन्तर्गत रहेको मालवाहक सवारीसाधनको भारबहन नियमसम्बन्धी कार्यविधि २०७१ अनुसार आयातित सामानको भारबहन क्षमतामिलान गरी ढुवानीका लागि सम्बन्धित भन्सार कार्यालयले इजाजत दिनुपर्ने व्यवस्था रहेको छ । तोकिएभन्दा बढी भारबहन क्षमताका सवारीसाधनलाई इजाजत दिनुपरेमा यातायात व्यवस्था विभागको स्वीकृत लिएरमात्र भन्सार काट्नुपर्ने प्रावधान रहेको छ ।

तर, भन्सार कार्यालयले उद्योगी व्यवसायीको प्रभावमा परी उक्त नियम तथा ऐनविपरीत भन्सार काट्ने गरेको नेपाली व्यवसायीको गुनासो छ ।

सरकारले १४ चक्के गाडीलाई २५ टन, १२ चक्के गाडीलाई २१ टन, १० चक्के गाडीलाई १७ टन र ६ चक्के गाडीलाई १० टनमात्र बोक्नसक्ने कानूनी व्यवस्था गरे पनि भारतीय नम्बर प्लेटका गाडीले ४० टनसम्म समान ल्याउँदा पनि भन्सार कार्यालयले भन्सार काट्ने गरेको तराइ यातायात व्यवसायी संघ सिमरा बाराका महासचिव शंकरकुमार विष्टको आरोप छ ।

दैनिक एक हजारभन्दा बढी मालवाहक ट्रक भारतबाट नेपाल भित्रिने गरेको छ । भन्सारले बढी भार भएको मालवाहक सवारीसाधनलाई नियमविपरीत छोड्ने गरेकाले नेपाली ट्रक व्यवसायी मारमा परेका छन् । भार बढी भएका सवारीसाधन धमाधम भारतबाट नेपाल भित्रिनाले मारमा परेको गुनासो गर्दै ट्रक व्यवसायी युवराज न्यौपाने भन्छन्, ‘भन्सार कार्यालयको अवैध क्रियाकलापका कारण समयमा बैंकलाई ऋण चुक्ता गर्न नसक्दा हाम्रो व्यवसाय धरापमा परेको छ ।’

क्षमताभन्दा बढी सामान बोकेका भारतीय ट्रकका कारण सडक जीर्ण बन्दै गएको छ । राजस्व चुहावटका साथै उद्योगले गर्ने आर्थिक चलखेलकै कारण नियम उल्लंघन गर्दै बढी भार बोकेका सवारी साधनको निर्वाधरुपमा भन्सार हुने गरेको संघका सचिव जीवन श्रेष्ठ बताउँछन् ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादव कार्यालयले ट्रकको क्षमतालाई भन्दा सामानलाई बढी महत्व दिने गरेको बताउँछन् । ‘भारक्षमता हेर्ने जिम्मा सडक विभागको हो,’ उनले भने ।

वीरगनज नाका हुँदै विशेष गरी सिमेन्टको कच्चा पदार्थ किलिंकर, खाद्यान्न, कोइला, मेसिनरी पार्टपुर्जा बढी मात्रमा नेपाल भित्रिने गरेको छ । रासस