१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


संघीय संसदको हिउँदे अधिवेशन सुरु


0
Shares

काठमाडौं, पुस ११ । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन बुधबारदेखि सुरु भएको छ ।

नयाँबानेश्वरस्थित संसद भवनमा अपराह्न ४ बजे सुरु भएको संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख कृष्णबहादुर महराले उपस्थित सबै सदस्यलाई स्वागत गर्दै संसदको अधिवेशन आह्वान सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए ।

बैठकमा राजनीतिक परिवर्तनका लागि मुलुकमा विभिन्न समयमा भएका आन्दोलनमा सहादत प्राप्त गर्ने सबै ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौनधारण गरिएको थियो ।

संसदको हिउँदे अधिवेशनमा विभिन्न विधेयकमाथि छलफल र पारित गरिनेछ ।

नेपालको संविधानको साझा सूचीमा रहेका, सविधानसँग बाझिने तथा संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माण र संशोधन यस अधिवेशनको मुख्य कार्यभार रहेको छ ।

अधिवेशनको प्रारम्भका अवसरमा बैठकमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका नेता एवं सदस्यहरुले शुभकामनासहितको मन्तव्य राख्नेक्रम शुरु भएको छ ।

बुधबारैको बैठकमा प्रशासकीय अदालत विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ भने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ प्रस्तुत् गर्ने कार्यसूची छ । रासस