चितवन, पुस ११ । चितवनको पर्यटकीय क्षेत्र सौराहामा बुधबारदेखि ‘१५औं चितवन हात्ती महोत्सव’ सुरु भएको छ ।
सौराहाको बाघमारा चौरमा सुरु भएको महोत्सवमा बुधबार पहिलो दिन ‘हात्तीवाक’ र छावाहरुको मैत्रीपूर्ण फुटबल खेल भएका छन् ।
हात्तीवाकतर्फ भएको प्रतिस्पर्धामा पाँचओटा हात्तीमध्ये लक्की कली, पूजा कली, रानीमाया कली र गुलाफ कली विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
एउटा हात्ती पहिलो चरणबाटै बाहिरिएको छ । यस प्रतिस्पर्धामा १५ ओटा हात्तीको सहभागिता रहेको छ ।
छावाहरुको मैत्रीपूर्ण फुटबल
बुधबारै हात्तीका छावाहरुको मैत्रीपूर्ण फुटबल खेल भएको छ । छावाहरुको फुटलबलअन्तर्गत् मेगा बैंकले एमइ ट्राभल एन्ड टुर्सलाई १–० ले पराजित गरेको छ ।
सांगीतिक कार्यक्रम
बुधबारै सांगीतिक कार्यक्रमअन्तर्गत् चर्चित लोकगायक मिलन लामा, नेत्रजी पन्तलगायतका कलाकारहरुले प्रस्तुति दिएका छन् ।
यी हुन् आकर्षण
महोत्सव अवधिभर हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने (हात्ती वाक) प्रतियोगिता, हात्तीको छावाको फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीपोलो, हात्ती शृंगार प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम रहने आयोजक क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष समुन घिमिरेले जानकारी दिए ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुनका लागि चितवन हात्ती महोत्सव गरिएको अध्यक्ष घिमिरेले बताए ।
महोत्सवकाक्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रमसमेत आयोजना गरिनेछ ।
स्थानीय युनाइटेड हात्ती सन्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा आयोजित महोत्सव पाँच दिनसम्म चल्नेछ ।









प्रतिक्रिया दिनुहोस्