Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


पुनःनिर्माण प्राधिकरणको फोटो प्रदर्शनी


0
Shares

काठमाडौं, पुस ११ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७२ साल वैशाखमा गएको शक्तिशाली भूकम्पले पुर्‍याएको क्षतिको पुनःनिर्माणसम्बन्धी फोटो प्रदर्शनी सुरु गरेको छ ।

बुधबारदेखि काठमाडौंको बहरमहलस्थित नेपाल कला परिषदमा आयोजित प्रदर्शनीमा १०० ओटा फोटा राखिएका छन् ।

पुनःनिर्माण प्राधिकरण स्थापनाको तेस्रो वर्ष पूरा भएको अवसरमा फोटो प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा भूकम्पले पुर्‍याएको क्षति, राहत वितरण, उद्धारकार्य तथा पुनःनिर्माणसम्बन्धी फोटा समावेश गरिएको छ ।

विभिन्न चार खन्डमा विभाजित प्रदर्शनीको पहिलो खन्डमा भूकम्पबाट पुगेको क्षतिपछिको अवस्था सामना गर्न भूकम्पप्रभावित व्यक्तिले कसरी एकार्कालाई सहयोग गरेका थिए भनेर देखाइएको छ ।

त्यसैगरी, दोस्रो खन्डमा भूकम्पपछिको जटिल अवस्थाबाट पुनःनिर्माण र पुनःस्थापनामा मानिस सहभागी भएको चरण देखाइएको छ । जसमा निजी आवास पुनःनिर्माण, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन, सांस्कृतिक सम्पदालगायतलाई समेटिएको छ ।

त्यसैगरी, तेस्रो खन्डमा भूकम्पबाट क्षति पुगेका संरचनाको अवस्था र पुनःनिर्माणपछि तिनीहरूको अवस्थासम्बन्धी फोटा राखिएका छन् ।

चौथो खन्डमा भने पुनःनिर्माण र पुनःस्थापनाका विभिन्न चरणमा भइरहेका काम तथा गतिविधिसँग सम्बन्धित वृत्तचित्रहरु प्रदर्शन गरिएको छ । 

प्रदर्शनी तीन दिनसम्म चल्ने प्राधिकरणले जनाएको छ ।