गृष्मा राजभण्डारी र दिलिप पोखरेल (इमेज)
काठमाडौं, पुस ११ । नेपाल भ्रमणमा आउने पर्यटकका लागि लक्षित गर्दै मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको मुहार परिवर्तन गर्न लागिएको छ ।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक’ विमानस्थल बनाउने योजना अघि बढाएको हो ।
आगामी वैशाख १ गतेदेखि बुटिक विमानस्थलको शुभारम्भ गर्ने सरकारको लक्ष्य छ ।
शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल, सर्वोच्च शिखर सगरमाथा, मौलिक पहिचान बोकेका सम्पदा, पुरातात्विक महत्वका मठ–मन्दिर अनि विभिन्न चाडपर्व, जात्रा, उत्सव नेपालका पहिचान हुन् ।
यी र यस्तै धरोहरको अवलोकन गर्न विश्वबाट वार्षिक लाखौं पर्यटक नेपाल आउने गरेका छन् । चालू आर्थिक वर्षमामात्र १० लाखभन्दा बढी पर्यटक नेपाल भित्रिइसकेका छन् ।
पर्यटक आउने मुख्य द्वार हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । वि.सं. २००६ सालबाट उडान भर्न थालेको यो विमानस्थलको उद्घाटन भने २०१२ सालमा तत्कालीन राजा महेन्द्रले गरेका थिए ।
६३ वर्षको इतिहास बोकेको यो विमानस्थल पर्यटक भित्रिने मुख्य मार्ग हो । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भएपनि यसको पूर्वाधार कमजोर भएको गुनासो भइरहेका बेला सरकारले विमानस्थल सुधारका लागि नयाँ अवधारणा अघि बढाएको छ ।
पछिल्लो समयमा विमानस्थल सुधारका लागि भइरहेका प्रयासलाईसमेत समेट्दै सरकारले अब बुटिक विमानस्थल बनाउने घोषणा गरेको छ ।
आगमनकक्षअगाडि नेपालको पहिचान झल्कने चित्रले सजिएका आकृति बुटिक विमानस्थलको अवधारणाअन्तर्गत् बनाइएका हुन् ।
जहाँ नेपालको भूमि टेक्ने पर्यटक होस् वा आफ्नै देशका नागरिक आफ्नो तस्वीर कैद गर्न लागिपर्छन् ।
त्यतिमात्र होइन, नेपालको पहिचानसहितको तस्वीर कैद गर्ने ‘सेल्फी प्वाइन्ट’ अर्को आकर्षणको केन्द्र बनेको छ, पर्यटकका लागि ।
विमानस्थलको प्रस्थान होस् वा आगमनकक्ष ठूलो लागतमा बिछ्याइएको कार्पेटले विमानस्थल सफा र सुन्दर देखाउन ठूलो मद्दत गरेको छ ।
बुटिक विमानस्थलका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसको उद्देश्य अन्तर्राष्ट्रियस्तरमा नेपालको विमानस्थलको पहिचान गराउने भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीको भनाइ छ ।
यो विमानस्थलबाट दैनिक ४० हजार यात्री ओहोर–दोहोर गर्दछन् ।
विमानस्थल सुधारको पहल सुरु भएपछि यसको मुहार वर्षौंपछि फेरिँदै गएको छ । अहिले विमानस्थल सफा र चिटिक्क देखिएको छ ।
यद्यपि, विमानस्थलमा हुने ‘ड्युटी फ्री सप’ भने सन्चालनमा नरहँदा पाहुनालाई केही अभाव खड्किएको हो कि भन्ने परेको विमानस्थलका महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।
सरकारले आगामी सन् २०२० सम्म वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । तर, पर्यटकका लागि सबैभन्दा महत्वपूर्ण मानिने विमानस्थलको अवस्था राम्रो नहुँदा भइरहेको अन्योलको अन्त्य गर्न सरकारले थालेको विमानस्थल सुधारको पहल स्वागतयोग्य छ ।









प्रतिक्रिया दिनुहोस्