
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी समितिमा प्रस्तुत राजनीतिक प्रतिवेदनका सम्बन्धमा सदस्यहरुले उठाएको प्रश्नको आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले जवाफ दिँदै छन् ।
गत मंसिर २९ देखि पुष ८ सम्म बसेको स्थायी समितिमा उठेका प्रश्नहरुको जवाफ आजको बैठकमा अध्यक्षहरुले दिने छन् । पार्टी एकतापछि गम्भिर बहस हुने गरी बसेको नेकपाको यो पहिलो बैठक हो ।
नेकपा अब कसरी जान्छ भन्ने कुरा अध्यक्षद्वयको जवाफमै धेरै कुरा निर्भर हुने केही नेताहरु बताउँछन् ।
स्थायी समितिको बैठकमा सदस्यहरुले पार्टी एकता र सरकार संचालनका सम्बन्धमा नेतृत्वको ध्यानाकर्षण गरएका थिए ।
बैठकमा बोल्ने अधिकांश सदस्यहरुले पार्टी पद्धति र विधाअनुसार नचलेको भन्दै शीर्ष नेतृत्वको चर्को आलोचना गरेका थिए ।
सचिवालय सदस्यसमेत रहेका नेता वामदेव गौतमले त लिखितरुपमै फरक मत प्रस्तुत गरेका थिए ।
केही सदस्यहरुले सरकारको कामले जनता निराश भएको भन्दै प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठनको दबावसम्म दिएका छन् ।
अध्यक्षद्वयले पार्टी भित्रका नेताहरुको असन्तुष्टिहरुको सम्बोधन गर्न नसकेको खण्डमा त्यसको असर नेकपाको आन्तरिक जीवन र सरकार सञ्चालनमा पर्ने अधिकांश नेताहरुको बुझाइ छ ।
बैठकमा मुख्यतः तीन समूहहरु देखिएका छन् । पूर्व एमाले भित्रका दुई समूह र पूर्व माओवादी अर्को समुह । बैठकमा पूर्व माओवादीका नेताहरु नत खुलेर असन्तुष्टि व्यक्त गरे नत खुलेरै समर्थन गरे ।
असन्तुष्टि भएपनि अहिले प्रधानमन्त्री ओलीलाई नचिढाउने पक्षमा यो समूह देखियो । पूर्व एमालेको एउटा समुहले भने खुलेरै असन्तुष्टि व्यक्त गर्यो ।
प्रतिक्रिया दिनुहोस्