८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024


कांग्रेसद्वारा म्यादी प्रहरी चौधरीको मृत्युप्रति दुःख व्यक्त


0
Shares

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्तिमार्फत् उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

कांग्रेसले मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका १८ वर्षीय चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको हो । अन्य घाइतेको कोहलपुर मेडिकल कलेज र राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा तुलसीपुरमा आयोजित चुनावीसभामा पुग्दैगर्दा मंगलबार अपराह्न बम विस्फोट भएको थियो ।

सो पार्टीले लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले सुनियोजित तवरबाट बारम्बार यस्ता घटना दोहरिनु दुःखद् भएको जनाएको छ ।

‘कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, पार्टीप्रति अगाध माया गर्ने आममतदाता यस घटनाबाट रत्तिभर विचलित हुनेछैनन्, कांग्रेसका नेता एवं कार्यकर्ताको हत्या नै गर्ने मनसायले गरिएको यस्तो आक्रमणप्रति घोर निन्दा र भर्त्सना गर्दछौं’–विज्ञप्तिमा उल्लेख छ ।

यस्ता घटनाले शान्तिपूर्ण एवं निर्वाधरुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकारमाथि ठाडो उल्लंघन गरेको र लोकतान्त्रिक संस्कारको उपहास भएको कांग्रेसको ठहर छ ।

कांग्रेसले यस प्रकारका अवाञ्छित क्रियाकलाप पुनः नदोहोर्‍याउन तथा घटनामा संलग्नलाई तत्काल खोजी गरी कारबाही गर्न सरकारसँग माग गरेको छ । रासस