१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


संघीय संसदको हिउँदे अधिवेशनः चर्चामा मुख्य पाँच विषय


0
Shares

काठमाडौं, पुस १० । बुधबारदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ ।

हिउँदे अधिवेशनमा विशेषगरी संसदमा दर्ता भएका विधेयक पेस गर्ने मुख्य जिम्मेवारी हुन्छ ।

योसँगै समसामयिक विषयवस्तु, जनजीविकाका सवाल र सरकारका काम–कारबाहीका विषयले पनि प्रशस्त ठाउँ पाउँछ ।

ऐन–कानुन निर्माणसँगै यसपटकको हिउँदे अधिवेशनमा मुख्य पाँचओटा सामाजिक विषयले पनि संसदमा प्रयाप्त स्थान पाउने देखिन्छ ।

कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना बितिसकेको छ । तर, सरकारले अझैपनि हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन सकेको छैन ।

संघीय संसदको अघिल्लो अधिवेशनमा पनि जोडदाररुपले उठेको यो विषयले आउँदो अधिवेशनमा पनि स्थान पाउने पक्का छ ।

मंसिर १५ र १६ गते काठमाडौंमा भएको विवादास्पद क्रिस्चियन संस्था युनिभर्सल पिस फेडरेसनको सम्मेलनमा सरकारको सहभागिताका विषयको विवाद अझै शान्त भएको छैन ।

स्वयं प्रधानमन्त्रीले सम्मेलनमा सरकारको सहभागिताबारे सार्वजनिकरुपमै पटक–पटक स्पष्टीकरण दिएपनि विवाद साम्य भएको छैन । यो विवाद संसदमा पनि चर्कोरुपले उठ्ने निश्चित छ ।

आमनागरिकले पनि संघीय संसदका सदस्यहरुले जनजीविकाका सवालहरु उठाउनुपर्ने धारणा राखेका छन् ।

यस्तै, नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिद प्रकरण र राष्ट्रपति कार्यालयका लागि हालको प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई हेलिप्याड बनाउने विषयप्रति सत्तारुढ दलका सांसदसमेत विरोधमा रहेकाले आगामी संसदको अधिवेशनमा यो विषय पनि चर्कने देखिन्छ ।

यस्तै, सरकारका पछिल्ला केही विवादित निर्णय, केन्द्रीय मन्त्री, प्रदेशमन्त्रीहरुले लिएको भनिएको दोहोरो सुविधा र सांसदहरुको आवासका लागि छुट्याइएको जग्गामा मन्त्री र प्रदेश मुख्यमन्त्रीका लागि आवास निर्माण गर्नेलगायतका विषयले पनि संसद चर्कने देखिन्छ ।

यस्तै, चिकित्सा शिक्षा सुधार लागि अनशन बसेका डा. गोविन्द केसीसँग सरकारले गरेको सहमतिको कार्यान्वयनमा भएको ढिलाइ, चिनीको मूल्य र उखु किसानले पाउन नसकेको उखुको मूल्यलगायतका तमाम जनजीविका र सामाजिक विषयहरुले आगामी संसद अधिवेशन तात्ने निश्चित छ ।

भिडियो हेर्नुहोस्