२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


३१ नयाँ औषधि उद्योगलाई अनुमति, क्यान्सरदेखि ‘एन्टी स्नेक भेनम’सम्म उत्पादन


0
Shares

प्रज्ञा तिमल्सिना र नवीन स्थापित (इमेज)

काठमाडौं, पुस १० । नेपाल औषधि व्यवस्था विभागले क्यान्सरदेखि एन्टी स्नेक भेनमसम्मका औषधि उत्पादन गर्न ३१ ओटा औषधि कम्पनीलाई अनुमति दिएको छ ।

अनुमति लिएका उद्योगहरुले समयमै उत्पादन सुरु गरे विदेशी औषधिको निर्भरता घट्ने अनुमान गरिएको छ ।

एक अर्ब रुपैैयाँभन्दा बढी लागतमा हाल ३१ ओटा औषधि उद्योग स्थापना हुन लागेको औषधि व्यवस्था विभागले जनाएको छ ।

तीमध्ये ७ ओटाले भने यस वर्ष नै औषधि बजारमा लैजाने तयारी गरेको विभागले जनाएको छ ।

जसमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिदेखि सर्पले टोकेपछि दिइने ‘एन्टी स्नेक भेनम’सम्म रहेका छन् । यस्तै, भेटनरीतर्फ पनि उद्योगहरु खुल्ने भएका छन् ।

नेपालमा क्यान्सर र एन्टी स्नेक भेनम भ्याक्सिन पहिलोपटक उत्पादन गर्न लागिएको विभागका महानिर्देशक नारायण ढकालले बताए ।

विभागबाट अनुमति लिएका उद्योगहरु धादिङ, चितवन, काभ्रे, मकवानपुर, बारा, तनहुँलगायतका ७ जिल्लामा खोल्न लागिएका हुन् ।

नेपालमा हाल ८० ओटा आयुर्वेदिक र ५८ ओटा एलोपेथिक औषधि उद्योगहरु रहेका छन् ।

तर, विभागको तथ्यांकमा भने ३७ ओटा उद्योगलेमात्र विश्व स्वास्थ्य संगठनको कुसल उत्पादन अभ्यास (जीएमपी) पाएको देखिएको छ । ती उद्योगले वार्षिक झन्डै ८०० प्रकारका औषधि उत्पादन गर्छन् ।

स्वदेशी औषधि उद्योगले पनि अन्तर्राष्ट्रियस्तरकै उत्पादन गर्न थालेपछि नेपालमा औषधिको माग बढिरहेको छ ।

औषधि उद्योगको संख्या वर्षेनि बढ्दै गएपनि औषधि अभावको समस्या भने वर्षेनि नै देखिने गरेको छ । जसका कारण बिरामीले समयमा औषधि पाउन सकेका छैनन् ।

औषधि व्यवस्था विभागले भने नेपालमा उत्पादन नहुने औषधिमात्र अभाव हुने गरेको दाबी गर्दै आएको छ ।

नेपालमा आवश्यक पर्ने औषधिमध्ये ५४ प्रतिशत आयात हुने गर्दछ ।

भिडियो हेर्नुहोस्