१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


पुनःनिर्माण प्राधिकरणको तीन वर्षः ७७ प्रतिशत निजी घरको पुनःनिर्माण सकिएको दाबी


0
Shares

काठमाडौं, पुस १० । भूकम्पपछिको पुनःनिर्माणमा मध्यस्थता गर्ने उद्देश्यले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण खडा गरेको तीन वर्ष पूरा भएको छ ।

२०७२ साल पुस १० गते स्थापना गरिएको प्राधिकरणले यस अवधिमा ७७ प्रतिशत निजी घरको पुनःनिर्माण सम्पन्न भएको दाबीसहितको प्रगति विवरण सार्वजनिक गरेको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी प्राधिकरणले पुनःनिर्माणका लागि अनुदान सम्झौता गरेका ७ लाख ४२ हजार १३५ घरमध्ये तीन लाख ३७ हजार ३१९ घर निर्माण भइसकेको र दुई लाख ३३ हजार ३४३ घर निर्माणको चरणमा रहेको जानकारी दिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गत असार मसान्तसम्म ७ लाख २२ हजार १९ लाभग्राही घरधनीसँग निजी आवास अनुदान सम्झौता गरी ७ लाख १३ हजार ८९३ जना घरधनीको बंैक खातामा पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ जम्मा गरिएको र असारसम्ममै ४ लाख ६४ हजार ३९१ जना घरधनीहरुलाई दास्रो किस्ताबापतको एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको बताए ।

तेस्रो किस्ताबापतको एक लाख रुपैयाँ पनि बैंक खातामार्फत् वितरण गरिसकिएको उनले जानकारी दिए ।

सीइओ ज्ञवालीले भूकम्पका कारण करिब ७५३ ओटा पुरातात्विक तथा सांस्कृतिक महत्वका सम्पदाहरु पूर्णरुपमा क्षतिग्रस्त भएकामा पुरातत्व विभागबाट आर्थिक वर्ष २०७४/७५ को अन्तसम्मा १८५ ओटा सम्पदाको पुनःनिर्माण सम्पन्न सम्पन्न गरिएको र ३०९ ओटाको पुनःनिर्माण जारी रहेको बताए ।

भूकम्पबाट क्षतिग्रस्त सबै क्षेत्रको पुनःनिर्माण सम्पन्न गर्न अभैm दुई वर्ष लाग्ने पनि ज्ञवालीले बताए ।

अहिलेसम्म एक हजार ७५ बस्तीको भौगर्भिक अध्ययन गरिएको र त्यसमध्ये २६१ ओटा बस्तीको स्थान्तरण गर्नुपर्ने, ३५१ ओटा बस्तीमा सुरक्षित आवासका उपाय अवलम्बन गर्नुपर्ने र बाँकी ४६३ ओटा बस्तीहरु सुरक्षित रहेको पाइएको पनि प्राधिकरणले जनाएको छ ।

यस्तै, १६ ओटा सरकारी भवनको पुनःनिर्माण सम्पन्न भइसकेको र थप १२६ ओटा सरकारी भवनको पुनःनिर्माणकार्य सुरु भइसकेको पनि जनाइएको छ ।

हालसम्म तीन हजार ८१६ विद्यालयहरुको पुनःनिर्माणकार्य सम्पन्न भइसकेको दाबी पनि प्राधिकरणले गरेको छ ।