२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मनाङलाई हराउँदै आर्मी काँकडभिट्टा गोल्डकप च्याम्पियन


0
Shares

झापाको काँकडभिट्टामा शुक्रबार सम्पन्न फाइनलमा मनाङ–मर्स्याङ्दी क्लबलाई ‘टाइब्रेकर’मा ३–२ ले हराउँदै आर्मीले जारी सिजनमा तेस्रो उपाधि हात पारेको हो ।

निर्धारित् समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा आर्मीका नवयुग श्रेष्ठ, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरे । मनाङका लागि विमल बस्नेत र हेमन गुरुङलेमात्र गोल गरे ।

उपाधिसँगै आर्मीले ८ लाख तथा उपविजेता मनाङले ४ लाख रुपैयाँ जितेको छ ।

आर्मीका विकास खवास ‘म्यान अफ द’ फाइनल घोषित भए ।

आयोजक टोली काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका मिलन राई प्रतियोगिताको उदीयमान खेलाडी घोषित भए । उनीहरु दुवैजनाले १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

व्यक्तिगत विधातर्फ गोलरक्षकमा आर्मीका विकेश कुथु, डिफेन्समा काँकडभिट्टाका भुषण लिम्बू, मिडफिल्डरमा मनाङका विशाल राई, स्ट्राइकरमा आर्मीका भरत खवास र प्रशिक्षक आर्मीका नवीन न्यौपाने उत्कृष्ट घोषित हुँदै जनही २० हजार रुपैयाँ पुस्कार पाए ।

सर्वाधिक गोलकर्ता बनेका आर्मीका दिनेश हेन्जनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

‘प्लेयर अफ द टुर्नामेन्ट’ मनाङका गोलरक्षक दिनेश थापामगर घोषित भए । उनलाई ५१ हजार रुपैयाँ प्रदान गरियो ।

फाइनल खेलका प्रमुख अतिथि राखेपका सदस्यसचिव केशवकुमार बिष्टले काँकडभिट्टा गोल्डकपलाई ३ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।