
काठमाडौं, पुस ९ । नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डीटीएच, डिसहोम नेपाल कम्पनीले अर्को वर्ष सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ ।
कम्पनीले आफ्ना सेवाबारे जानकारी दिन सोमबार गरेको पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष हेमराज ढकालले पब्लिक कम्पनीमा गइसकेको यस कम्पनीले आगामी वर्ष साधारण सेयर जारी गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन् ।
कम्पनीले इन्टरनेट सेवा पनि प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ ।
पैसा तिरेर सेवा लिनसकिने डिसहोम नेपालले नेपालको ‘पे टीभी’ उद्योगकारुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै ९ वर्षदेखि नेपालमा सेवा दिइरहेको जनाएको छ ।
कम्पनीले ललितपुरको भैंसेपाटीस्थित छ्यासीकोटमा डिस मिडिया नेटवर्क लिमिटेडकारुपमा सेवा सुरु गरेको हो ।
अध्यक्ष ढकालले स्याटेलाइटका माध्यमबाट इन्टरनेट सेवा प्रदान गर्ने विषयमा तयारी सुरु गरेको जानकारी पनि दिए ।
कम्पनीले गाउँमा इन्टरनेटको असुविधा भइरहेको स्थानलाई लक्षितगरी त्यहाँसम्म यो सेवा पुर्याउने तयारी गरिरहेको जनाएको छ ।
कम्पनीले २००९ मा नेपाल सरकारबाट स्वीकृति लिइ व्यापारिकरुपमा बिक्री–वितरणको अनुमति पाएको थियो ।
यस टीभीले हाल नेपालमा टीभी हेरिने घरमध्ये २५ प्रतिशत घरसम्म पहुँच पुर्याएको दाबी गरेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले हालसम्म करिब १५ लाख सेटटप बक्स बिक्री गरिसकेको जानकारी दिए ।
कम्पनीले सन्चालनमा आएयता चार अर्ब १० करोड ९१ लाख रुपैयाँ राजस्व तिरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्