
आयोगले एक लाख ७५ हजार कर्मचारी खटाउँदै छ ।
निर्वाचनका लागि आयोगले शनिवारबाटै कर्मचारीलाई सम्बन्धित केन्द्रहरुमा खटाउन थालेको हो । कर्मचारीले मतदान स्थल निर्माण, मतदाता परिचय पत्र वितरणका साथै मतदाता शिक्षा पनि प्रदान गर्ने छन् ।
४५ जिल्लाका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा खटाइएका कर्मचारीले बिहीवार ती जिल्लाका १२८ प्रतिनिधिसभा तथा २५६ प्रदेश सभा सदस्यका लागि मतदान गराउने छन् । आ–आफ्ना केन्द्रमा जाने कर्मचारीले सदरमुकाम पुगेका निर्वाचन सामग्री बुझेर लगेका छन् ।
प्रत्येक मतदान केन्द्रका लागि ७ देखि ९ जना कर्मचारी खटाइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
निर्वाचनका लागि चाहिने ६७ सामग्रीमध्ये मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, स्वस्तिक छाप र मसीलगायतका सामग्री पठाइएको छ भने १७ प्रकारका सामग्री भने स्थानीय तहमै खरिद गर्न सकिने जनाइएको छ ।
यस पटक एक करोड २२ लाखभन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन् ।
यसैबीच, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले मतदान केन्द्रमा कर्मचारी खटाउन थालेको छ ।
मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि टाढाका मतदान केन्द्रहरुमा शनिबारबाटै कर्मचारी पठाउन थालिएको हो । सदरमुकाम र आसपासका क्षेत्रमा भने आइतबारसम्ममा कर्मचारी पठाइने मूख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले जानकारी दिए ।
सोमबार साँझसम्म सबै कर्मचारी आ–आफ्नो कार्यक्षेत्रमा पुगेर मंगलबार र बुधवार मतदान केन्द्रमा परिचय पत्र वितरण, मतदाता शिक्षा प्रदान गर्ने छन् ।
१ सय १७ मतदान स्थल र १ सय ५३ केन्द्र रहेको धनकुटामा एक मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित १ हजार ८ सय ३६ कर्मचारी खटिने छन् ।
प्रतिक्रिया दिनुहोस्