काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका काम चित्तबुझ्दो नभएको बताएका छन् ।
आज(सोमबार) आफ्नै निवास बुढानिलकण्ठमा नेपाली कांग्रेसका जिल्ला सभापतिहरुका लागि आयोजित चियापानमा सभापति देउवाले सरकारको काम चित्त बुझ्दो नभएकाले आफ्नो पार्टीले खवरदारी गर्ने बताए ।
सरकार मनपरी ढंगले चलेको आरोप लगाउदै उनले केन्द्र, क्षेत्र र जिल्लास्तरबाटै सरकारका काम कारवाहीको खवरदारी गर्ने भएकाले अब सरकारको मनपरी नचल्ने पनि बताए ।
महासमिति बैठकबाट नेपाली कांग्रेस एक ढिक्का र एकताबद्ध भएको भन्दै देशभरका कार्यकर्तालाई एक भएर अगाडि बढ्न उनले निर्देशन दिए ।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकले देशभरका कार्यकर्तालाई उत्साहित बनाएको बताए ।
आफू र सभापतिबीच कुनै तुष नभएको भन्दै उनले अब एक ढिक्का भएर पार्टीलाई विधानअनुसार अगाडि बढाउने बताए ।
वरिष्ठ नेता पौडेलले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको भन्दै कांग्रेस जनताको घर घरमा पुग्ने पनि बताए ।
पार्टीभित्र भएको गुटको अन्त्य महासमिति बैठकले गरेको दुबै नेताको भनाई थियो ।
चियापानमा शीर्ष नेताहरुसहित जिल्ला सभापति र महासमिति सदस्यहरुसमेत सहभागी थिए ।









प्रतिक्रिया दिनुहोस्