Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


विस्फोटको घटनाप्रति गम्भीर चासो


0
Shares

निर्वाचनमा संलग्न उम्मेदवारलक्षित विस्फोटमा उम्मेदवारदेखि प्रचार अभियानमा जुटेका कार्यकर्तासम्म गम्भीर घाइते हुनेगरी गराइएको घटनाप्रति एम्नेष्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै चिन्ता व्यक्त गरेको हो ।

सोमबार काठमाडौंमा भएको आक्रमणमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगनकुमार थापा, त्यसअघि १३ गते उदयपुरको घटनामा अर्का उम्मेदवार नारायण कार्कीसहितका नेता–कार्यकर्ता घाइते भएकाप्रति एम्नेष्टी नेपालले चासो व्यक्त गरेको हो ।

आगामी बिहीबार हुने निर्वाचनकाक्रममा सुरक्षाको सुनिश्चितता र मानवअधिकारको सम्मान गर्न आग्रह गर्दै एम्नेष्टीले ऐतिहासिक प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार, मतदातालगायत सबैको सुरक्षा र हितको संरक्षण गर्न भनेको छ ।

विभिन्न राजनीतिक दलका निर्वाचन अभियानकर्ताहरूले देशका विभिन्न भागमा विस्फोटक पदार्थको प्रयोगलगायत हिंसाका घटनाको सामना गरिरहेको भन्दै पछिल्ला घटनाले मतदाताहरू मतदान गर्न जानेक्रममा सुरक्षा र व्यक्तिगत हितमासमेत त्रास बढाउनेतर्फ ध्यानाकर्षण गराइएको छ ।

मानिसको अभिव्यक्ति स्वतन्त्रताको अधिकार र शान्तिपूर्वक भेला हुन तथा सभा गर्न पाउने अधिकारको संरक्षण गर्नुका साथै सार्वजनिक सुरक्षा सुनिश्चित गर्न नेपाली अधिकारीहरुलाई एम्नेष्टीले आग्रह गरेको छ ।

सबै हिंसाका घटनाको स्वतन्त्र र प्रभावकारी अनुसन्धान गर्न एवं घटनाका सन्दिग्धहरूलाई निष्पक्ष सुनुवाइमार्फत् जवाफदेही बनाउन एम्नेष्टी इन्टरनेसनल नेपालले आग्रह गरेको हो ।

स्वेच्छाचारी हिरासत वा बलको अधिक प्रयोगबाट मानिसका अधिकार उल्लंघन हुन नदिन पनि विज्ञप्तिमा भनिएको छ ।