१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


चितवनमा निर्वाचनविरोधी गतिविधिमा संलग्न ४६ जना पक्राउ


0
Shares

चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सोमबारदेखि हेटाँैडाबाट तालीम प्राप्त कुकुर ल्याएर सुरक्षा कडा पारिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सुरक्षित र भयरहितरुपमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालय चितवनले अवलम्बन गरेका सुरक्षा रणनीतिअनुसार जिल्लाको शंकास्पद वस्तु खोजीका लागि कुकुरको प्रयोग गरिएको हो ।

विभिन्न सात स्थानमा खोजी अभियान चलाउँदा भरतपुर महानगरपालिका वडा नम्बर ५ कल्याणपुरस्थित नहरको झाँडीमा लुकाइ राखेको अवस्थामा कटुवा बन्दुक एक नाल बरामद गरिएको ढकालले जानकारी दिए ।

उक्त बन्दुकमा प्रयोग हुने गोली एक राउन्ड र बम बनाउन प्रयोग हुने बारुदको धुलो १५ ग्रामसमेत फेला पारिएको छ । सो घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

निर्वाचनपूर्वको सुरक्षा रणनीतिअनुसार जिल्ला सुरक्षा समितिले सुरु गरेको खोजी अभियानका क्रममा विभिन्न आपराधिक क्रियाकलाप र निर्वाचनविरोधी गतिविधिमा संलग्न गरी ४६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसमा निर्वाचनविरोधी गतिविधिमा संलग्न विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २५ जना रहेको ढकालले जानकारी दिए ।

विभिन्न ठाउँमा नक्कली बम राखेर तर्साउनेक्रम बढिरहेको भन्दै उनले मतदातालाई ढुक्कसँग निर्वाचनमा भाग लिने वातावरण तयार गर्न प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए । रासस