४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


विद्यार्थीको सिकाई प्रभावकारी बनाउन बालउद्यान स्थापना


0
Shares

विनोद सिंह विष्ट

बैतडी, पुस ९ । बालबालिकालाई शिक्षण क्रियाकलापका अतिरिक्त मनोरञ्जनका लागि बैतडीको पाटन नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा बालउद्यान निर्माण  गरिएका छन् । बालउद्यान निर्माण गरिएका विद्यालयमध्ये पाटन नगरपालिका–९ विजयपुरस्थित ज्ञानेश्वर मावि पनि एक हो ।

नगरपालिकाको ५ लाख, शिक्षा विकास तथा समन्वय इकाईको २ लाख र विद्यालयको ३ लाख रुपैयाँ गरी १० लाख रुपैयाँको लागतमा बालउद्यान स्थापना गरिएको सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश विष्टले जानकारी दिए । 

बालउद्यानमा बालबालिकालाई खेल्नका लागि चिप्लेटी, रोटेरिङ चेयर, ढिकी पिङका साथै  सिकाईका लागि गार्डनमा बालबालिकाले सजिलै चिन्न सक्ने त्रिभुज, षट्कोण, स्तम्भ लगायतका चित्रहरु कोरिएका छन् ।

बालबालिकालाई शिक्षण क्रियाकलापका अतिरिक्त मनोरञ्जनका लागि विद्यालयमा बालउद्यान स्थापना गरिएको विष्टले बताए । ५६५ विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा प्राविधिक विषयको समेत पढाई हुने गरेको छ ।  

पाटन नगरपालिकामा रहेको सिद्धेश्वर मावि हुक्केडाँडा, जनता मावि आरुबाटा लगायतका ५ विद्यालयमा पनि बाल उद्यान स्थापना गरिएका छन् ।

नगरपालिकालाई नै बालमैत्री नगरपालिका बनाउने लक्ष्य रहेकाले नगरपालिकाका सबै विद्यालयमा बालउद्यान निर्माण गरिने पाटन नगरपालिकाका नगरप्रमुख केशव बहादुर चन्दले बताए ।