जिल्लाका अधिकांश मतदानस्थल अति संवेदनशील पाइएपछि पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
निर्वाचनलाई लक्षित गरेर जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धान निकाय एकीकृत ढंगले परिचालन गरिएको छ ।
निर्वाचन विरोधी गतिविधि हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए ।
तीन क्षेत्र रहेको बाँकेमा तीन प्रतिनिधि सभा र ६ प्रदेशसभा सदस्यका लागि विहीबार मतदान हुँदैछ । जिल्लामा १ सय ३६ वटा मतदानस्थलका ३ सय २७ मतदान केन्द्र रहेका छन् ।
१ सय ३६ मतदान स्थलमध्ये १ सय १ वटा अति संवेदनशील र ३६ वटा मतदान स्थल संवेदनशील छन् । सोही अनुसार नै सुरक्षा व्यवस्था मिलाइएको तामाङले बताए ।
कुनै पनि स्थान तथा मतदान केन्द्रमा कुनै घटना भएमा ढिलोमा १० मिनेटभित्र सुरक्षाकर्मी पुग्ने गरी तयारी गरिएको उनको भनाइ छ । सिमामा नेपाली र भारतीय सुरक्षाकर्मीले संयुक्त रुपमा गस्तीसमेत गरिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्