१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा फोहोर र दुर्गन्ध बढ्यो


0
Shares

सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा फोहोर र दुर्गन्ध बढेको छ ।

अस्पताल परिसरमा जथाभावी फालिएका पान, गुट्खा र सूर्तीका खोलले फोहोर र दुर्गन्ध बढेको हो ।

अस्पताल आउने सेवाग्राहीको गुनासो बढ्दै गएपछि अस्पतालले पान, गुट्खा र सुर्ती नियन्त्रण गर्न २ जना कर्मचारी नै नियुक्त गरेको छ ।

बिरामी कुरुवाले पान, गुट्खा र सुर्ती खाएर भर्‍याङ र कुनाकाप्चामा जथाभावी थुक्ने गरेका कारण अस्पतालमा फोहोर र दुर्गन्ध बढेपछि नियन्त्रण गर्न २ जना कर्मचारी नियुक्त गर्नुपरेको अस्पतालले जनाएको छ ।

अस्पताल विकास समितिले तलव उपलब्ध गराउने गरी रामनारायण साह र अमित रायमाझीलाई पान र गुट्खा नियन्त्रणका लागि नियुक्ति दिइएको हो ।

नियुक्त भएका कर्मचारीले अस्पताल प्रवेश गर्नेहरुको मुख चेक गर्ने र पान, गुट्खा वा सूर्ती खाएको फेला पारे मुख सफा गरेर मात्र प्रवेश गर्न दिने गरेका छन् ।