२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


ओली अनुपस्थित भएपछि ११ गतेसम्मका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित


0
Shares

काठमाडौं, पुस ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा सदस्यहरुले बोल्ने क्रम सकिएको छ ।

आज बिहान बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले गत महिना काठमाडौंमा गरिएको विवादास्पद संस्था युनिभर्सल पीस फेडरेसनको सम्मेलनको बचाउ गर्दै स्पष्टिकरण दिएका थिए ।

नेपालले कार्यक्रममा सहभागी हुँदैमा देशको शीर ननिहुरिने भन्दै सो संस्थासमेत गलत नभएको जिकिर गरे । उनले कार्यक्रम आयोजना गरेर कसैलाई पनि नोक्सानी नभएको बताए ।

नेता नेपालले विवादास्पद संस्था र त्यसको सम्मेलनको बचाउ गरेपछि नारायणकाजी श्रेष्ठ, भीम रावल, अग्नि सापकोटा, बेदुराम, घनश्याम भुषाल, योगेश भट्टराई र रघुजी पन्तलगायतले विवादास्पद क्रिश्चियन मिसनरी संस्थाको सम्मेलन गर्नु र नेताहरु सहभागी हुनु गम्भीर गल्ती भएको भन्दै नेता नेपाललाई आत्मालोचना गर्न भनेका थिए ।

भीम रावलले सम्मेलनबाट समग्र पार्टी, सरकार र देशको आत्मसम्मानमा चोट पुगेको भन्दै आत्मालोचनाले मात्रै नपुग्ने बताए ।

प्रधानमन्त्री केपी ओलीले भने उक्त विषय साम्य भइसकेको भन्दै त्यसलाई उछालेर निहुँ नखोज्न भनेपछि अरु सदस्यहरु आक्रोशित बनेका थिए । 

सदस्यहरुले बोल्ने क्रम सकिएकाले अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी ओलीले वैठकमा जवाफ दिने भन्दै विहानको बैठक स्थगित गरिएको थियो । तर प्रधानमन्त्री ओली अपरान्हको बैठकमा उपस्थित नभएपछि बैठक पुस ११ गतेसम्मका लागि स्थगित गरिएको छ ।