Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


राजनीति इमानको विषय बन्न नसकेको प्रधानमन्त्रीको ठहर


0
Shares

काठमाडौं, पुस ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजनीति इमानको विषय बन्न नसकेको टिप्पणी गरेका छन् ।

सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको ९५ औं जन्मजयन्तीका अवसरमा ललितपुरको बाडे गाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा हुने छलछाम, धोकाधडी र भ्रष्टाचारले राजनीति इमानको विषय बन्न नसकेको बताए । राजनीति गर्नेहरुले कृष्णप्रसाद भट्टराईको निष्ठा, त्याग र निरन्तरतालाई अनुशरण गर्न सकेमात्र राजनीतिमा इमान हुने उनको भनाइ थियो ।

अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले रेलमार्ग र जलमार्ग निर्माणको काम तिव्र रुपले अगाडी बढेको दाबी गरे । आगामी वैशाख १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै एकमात्र बुटिक विमानस्थल बन्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले नेपालको राजनीतिमा कृष्णप्रसाद भट्टराई निष्कलंक व्यक्ति भएको भन्दै प्रजातन्त्रका लागि स्वर्गीय भट्टराइले पु¥याएको योगदानको पुस्तौपुस्ताले स्मरण गर्ने बताए ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले राजनीतिलाई भ्रष्टीकरणबाट मुक्त गरी सफा गर्न सन्त नेता भट्टराईको अनुशरण गर्नुपर्ने धारणा राखेका थिए । वि.सं १९८१ मा जन्मिएका भट्टराईको वि.सं.२०६७ मा निधन भएको थियो ।