Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


काठमाडौं उपत्यका अन्धकार हुनबाट जोगियो


0
Shares

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अघिल्लो दिन बुधबार राति उपत्यकालाई अन्धकार बनाउने उद्देश्यका साथ भक्तपुरमा शक्तिशाली विस्फोट गराइएको नेपाल विद्युत् प्राधिकरणले आशंका गरेको छ ।

निर्वाचन प्रभावित बनाउन खोज्ने तत्वले गलत नियतका साथ भक्तपुरबाट काठमाडौं आइरहेको प्रसारण प्रणालीमा क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ ।

बुधबार राति ९ः०० बजे उपत्यकाको विद्युत् आपूर्तिको मुख्य लाइन भक्तपुर–बानेश्वर ६६ केभी प्रसारणलाइनको दुवाकोटनजिकको खेतमा गराइएको बम विस्फोटका कारण तार चुँडिएको प्राधिकरणले जनाएको छ ।

बम विस्फोटका कारण प्रसारण प्रणालीमा समस्या आएकाले बानेश्वर र पाटन क्षेत्रमा करिब २० मेगावाट विद्युत् आपूर्ति हुन सकेको थिएन ।

विद्युत् आपूर्ति नभएका कारण ती क्षेत्रमा बुधबार साँझ केही समय अन्धकार हुन पुगेको थियो ।

बम विस्फोटनको आवाज आउनसाथ नेपाली सेनाको टोली उक्त स्थानमा पुगेको थियो ।

प्राविधिक कारणले तार चुँडिएकोजस्तो लागेको भएपनि उपत्यकाको विद्युत् आपूर्तिको मुुख्य प्रसारण प्रणालीमा नै बम पड्काएर अन्धकार बनाउने नियत राखिएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्राधिकरणले जनाएको छ ।

उपत्यकालाई अन्धकार बनाउने र चुनाव बिथोल्ने नियतका साथ बम विस्फोट गराएको हुनसक्ने देखिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले निर्वाचनको संवेदनशीलता ध्यान दिएर आपत्कालीन व्यवस्थाअन्तर्गत् विद्युत् आपूर्ति गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस्ता आपराधिक घटनाले प्रसारण तथा वितरण प्रणालीमा ठूलो चुनौती थपिएको जानकारी दिए ।

उता, चिलिमे जलविद्युतगृहबाट काठमाडौं ल्याइएको विद्युत् प्रणालीमासमेत बिहीबार साँझ पुनःसमस्या आएको छ ।

सो प्रणालीमासमेत त्यस्तै विस्फोट गराइएको हुनसक्ने प्राधिकरणले आशंका गरेको छ ।

बिहीबार अपराह्न समस्या समाधान गरेर विद्युत् प्रसारण गरिएको जनाइएको भएपनि साँझ पुनःसमस्या देखिएको छ । रासस