Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


बीस वर्षमा २१ प्रतिशतले पुड्कोपन घट्यो


0
Shares

काठमाडौं । बीस वर्षमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको सङ्ख्या २१ प्रतिशतले घटेको छ ।

सन् १९९६ मा ५७ प्रतिशत बालबालिकामा रहेको पुड्कोपन हाल ३६ प्रतिशतमा झरेको नेपाल जनस्वास्थ्य प्रतिष्ठानले शनिबार सार्वजनिक गरेको ‘नेपालमा पुड्कोपना न्यूनीकरण अध्ययन’ प्रतिवेदनमा तथ्याङ्क उल्लेख छ ।

पछिल्लो समय बालबालिकाको पोषण, मातृशिशु स्वास्थ्य, आमाको खानपान, खानेपानी तथा सरसफाइमा सुधार, आमा सुरक्षा कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविकाको उदाहरणीय भूमिकाले नेपालले पुड्कोपना न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताइएको छ ।

प्रतिष्ठानका अध्यक्ष डा महेश मास्केले विशेषगरी बालबालिकाको पोषण तथा बालस्वास्थ्यका क्षेत्रमा नेपाललले उल्लेखनीय सुधार गरेकाले पुड्कोपन घटेको बताए । 

बालरोग विशेषज्ञ प्रा डा रमेशकान्त अधिकारीका अनुसार सन् १९७५ मा पाँच वर्षमुनिका ७० प्रतिशत बालबालिका पुड्का थिए ।

उनले भने, “कुपोषण नै पुड्कोपनको प्रमुख कारकत्व हो, पोषणका क्षेत्रमा पछिल्लो समय सुधार आएको छ, तर ग्रामीण क्षेत्रका बालबालिका पुड्कोपन तुलनात्मकरुपमा घट्न सकेको छैन ।”

चिकित्सकका अनुसार गर्भधारणदेखि दुई वर्षमुनिका बालबालिकामा पुड्कोपन शुरुआत हुन्छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले कुपोषण अन्त्यका लागि बहुक्षेत्रीय पोषण योजनालाई विभिन्न मन्त्रालयमार्फत कार्यान्वयन भइराखेको जानकारी दिए । 

जनस्वास्थ्यविज्ञ डा बद्रीराज पाण्डेले ग्रामीण क्षेत्रका बालबालिकामा पुड्कोपन नियन्त्रण अझै चुनौती रहेको बताए ।

अध्ययनमा सहभागी राजकुमार सुवेदीले सबै प्रदेशका बालबालिकामा पुड्कोपनसम्बन्धी अध्ययन गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए । रासस