Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


सिँचाइको अभावमा तोरी उत्पादनमा कमी


0
Shares

वर्षेनि तोरीखेतीका लागि आकाशे पानीको भर पर्नु पर्छ । स्थानीयवासीले प्रशस्त खेतीयोग्य जमिन हुँदाहुँदै पनि तोरी उत्पादन नहुँदा बजारबाट तेल किनेर खान बाध्य भएको बताएका छन् ।

दाङ तोरीखेतीका लागि प्रख्यात जिल्ला भए पनि हाल भने जिल्लामा पर्याप्त उत्पादन हुन सकेको छैन । कुनै बेला प्रति परिवारले चारदेखि पाँच क्वीन्टलसम्म तोरी उत्पादन गर्दथे । केही वर्षयता तोरी उत्पादनमा गिरावट आएको स्थानीयवासी एकराज खड्काले बताए ।

उनले भने, ‘कुनै समयमा दाङको रक्षाचौर र मजुवालगायतका क्षेत्रमा प्रशस्त तोरी उत्पादन हुने गर्दथ्यो, हाल सिँचाइ सुविधा नहुँदा तोरी उत्पादन हुदैन् ।’

सो क्षेत्रमा तोरीका लागि श्रीकुला सिँचाइ योजना भए पनि सो कुलो जीर्ण हुँदा सिँचाइ गर्न सकिएको छैन । ‘खोला सुक्दै गएका कारण झन समस्या भएको छ,’ तुलसीपुर– ४ का रामबहादुर खड्काले भने, ‘अहिले तेल किन्नु परिरहेको छ ।’

‘कुनै समय हाम्रो एक कठ्ठा खेतमा डेढमुरीसम्म तोरी फल्थ्यो,’ तुलसीपुर–४ का मानबहादुर वलीले भने । सिँचाइ सुविधा नहुँदा यहाँका बासिन्दा खेतीयोग्य जमिन हुँदाहुँदै पनि तेल किनेर खान बाध्य भएका छन् । रासस