२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अब कहिल्यै चुनाव लड्दिनँ : केसी


0
Shares

यस वर्षको प्रतिनिधिसभा सदस्यको निर्वाचन नै आफ्नो अन्तिम चुनावी प्रतिस्पर्धा भएको सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य उम्मेदवार केसीले बताए ।

सन्चारकर्मीसँग कुरा गर्दै उनले भने–‘अब म पार्टीको सुदृढीकरणका लागि लागिपर्छु ।’

नेता केसीले पार्टीका उम्मेदवारहरुले पराजय भोग्नु परे पनि जनताको विचारलाई आफूहरुले जित्न सफल भएको जिकिर गर्दै मतदातालाई धन्यवाद व्यक्त गरे ।

नेपाली कांग्रेसले चुवाव हारे पनि जिल्लाको विकास र जिल्लालाई समृृद्धितर्फ लाने विषयमा कांग्रेसको सदैव साथ र सहयोग रहने उनले बताए ।

वि.सं. २०४८ यता सम्पन्न निर्वाचनमा चारपटक जितेका केसीको यो दोस्रो हार हो ।

वि.सं. २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका गोपाल किराँतीसँग पराजित भएका केसी यसपटक नेकपा माओवादी केन्द्रकै हेमकुमार राईसँग पराजित भएका हुन् ।

आफ्नो चुनावी समीक्षामा पार्टी पराजित हुनाको प्रमुख कारण गुटगत राजनीति भएको कांग्रेसले निष्कर्ष निकालेको छ ।

नेता केसीले जिल्लामा कांग्रेस सबै एक भएर नलाग्नाले तीनै स्थानमा पराजय व्यहोर्नुपरेको बताए ।

कांग्रेसका तर्फबाट प्रदेशसभा ‘क’बाट उम्मेदवार बनेका प्रकाशसिंह कार्कीले मतदाताले रुचाउँदा–रुचाउँदै पनि संगठनको कमजोरीका कारण पराजय भोग्नुपरेको बताए ।

उनले भने–‘जनताले हामीलाई चाहेकै हुन् तर संगठन निर्माण गर्नेको कमजोरी भयो ।’

प्रदेशसभा ‘ख’का उम्मेदवार आङगेलु शेर्पाले पनि पार्टी एक हुन नसक्दा जनताले चाहेर पनि कांग्रेसले हार व्यहोर्नुपरेको बताउँदै पार्टी र संगठनभित्र कमजोरीको समीक्षा गरेर अगाडि बढ्ने जानकारी दिए ।

पूर्वपार्टी सभापतिसमेत रहेका शेर्पाले पार्टीमा विगतदेखिको समस्या सुल्झाउनु नसक्नु नै पराजयको प्रमुख कारण भएको बताए ।

उनले भने–‘अबको पाँच वर्षमा पार्टी सुदृढीकरण गरेर बहुमतले विजयी हुने गरी कांग्रेसले काम गर्नुपर्छ ।’