Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


सुनसरीमा मध्यरातमा २ समूहबीच झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

१७ जना घाइते, घर तथा पसलमा आगजनी, निषेधाज्ञा पनि जारी

39
Shares

सुनसरी सुनसरीको देवानगञ्जमा आइतबार मध्यरातमा दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ ।

झडपमा परि मृत्यु हुनेमा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहता रहेकाे प्रहरीले जनाएकाे हाे । साउने सोमबारको व्रतका लागि हिन्दु धर्मावलम्बीहरूले निकाल्ने बोलबम यात्रामा सहभागी एक समूहलाई आइतबार राति अर्को समूहले आक्रमण गरेपछि झडप शुरु भएको प्रहरीले बताएकाे छ । झडपले उग्ररूप लिएपछि स्थानीयका घर तथा पसलमा समेत आगजनी गरिएको थियो ।

घटनाको जानकारी पाएलगत्तै स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा मेहताको मृत्यु भएको छ । घटनामा गोली लागेर तथा झडपका क्रममा करिब १७ जना घाइते भएको प्रहरीले जनाएको हाे। जिल्ला प्रहरी कार्यालय सुनसरीले झडप नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी समेत घाइते भएकाे जनाएकाे छ। घाइतेहरूको विराटनगरस्थित विराट टिचिङ, नोबेल र न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि जिल्लाको देवानगञ्ज र हरिनगर गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हाे । स्थिति भड्किन नदिन सुनसरी र मोरङबाट थप प्रहरी परिचालन समेत गरिएको कार्यालयले जनाएकाे छ।