१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


दाइजोको विरोधमा मुस्लिम (भिडियो)


0
Shares

शंकर खनाल र लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, पुस ७ । दाइजो लिनु–दिनु सामाजिक विकृति भएको भन्दै मुस्लिम समुदायका व्यक्तिहरुले पनि यसको विरोध गरेका छन् । उनीहरुले दाइजो रोकथामका लागि भन्दै देशभर अभियानसमेत चलाएका छन् ।

नेपालमा दाइजोलाई गैरकानुनी मानिन्छ । तर, समाजमा अहिलेपनि दाइजोप्रथा कुनै न कुनैरुपमा भने कायमै छ ।

शिक्षित–अशिक्षितदेखि धनी–गरिब जुनसुकै वर्ग र समुदायमा कायम रहेको यो चलन अन्त्य गर्न विभिन्न अभियानहरु सन्चालन गरिएका छन् ।

विशेषगरी तराई क्षेत्र र मुस्लिम समुदायमा तुलनात्मकरुपमा दाइजोको चलन अलि धेरै देखिएबाट यसको नकारात्मक प्रभाव र यसले पार्ने असरबारे जानकारी गराउन चेतनामूलक अभियान सन्चालन गर्न इस्लामी संघ नेपालले पनि देशैभर सक्रियता जनाएको छ ।

विवाहको समयमा केटापक्षलाई केटीपक्षले दिने नगद, जिन्सी वा चल–अचल सम्पत्तिलाई दाइजोकारुपमा दिने चलन परम्परागत अभ्यासकारुपमा कायमै छ ।

दाइजोका कारण विवाह खर्चिलोसमेत बन्दै गएको छ । यस्तो अवस्थालाई आफ्नो समुदायबाटमात्र नभइ समग्र समाजबाटै हटाउन ‘छोरीलाई दाइजो हैन, पैतृक सम्पत्तिमा अंश र शिक्षा दिउँ’ भन्ने नारालाई मुस्लिम समुदायले अगाडि सारेको छ ।

कतिसम्म भने दाइजो उन्मूलन भने राज्यले नै अभियान सन्चालन गर्दासमेत  अन्त्य नहुँदा यसरी मुस्लिम समुदायलेसमेत अग्रसरता लिनुपरेको अभियानमा संलग्नहरुको भनाइ छ ।

हिमाल, पहाडदेखि तराईसम्म नै दाइजोको चलन रहेपनि तराईमा यसको प्रभाव बढी देखिन्छ ।

दाइजो नपाएकै कारण महिलालाई घरबाट निकाल्ने, जीउँदै जलाउनेसम्मका निर्मम घटनासमेत भइरहेकाले यसको विरोध गर्नुपरेको मुस्लिम अगुवाहरुले जनाएका छन् ।

मुस्लिम समुदायले दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुन पनि आग्रह गरेको छ ।

यसले गरिब, असाहाय परिवारका छोरीचेलीको विवाह नहुने वा विवाह गर्दा पूरै सम्पत्ति खर्चनुपर्ने अथवा ऋण लिनुपर्ने अवस्था आएको छ ।

विकल्पमा छोरीलाई पैतृक सम्पतिबाट अंश दिने वा शिक्षा दिएर सक्षम बनाउनुपर्ने आवाज उठ्न थालेको छ ।

भिडियो हेर्नुहोस्