Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नेकपाका नेताहरुले सोधेः एसिया प्यासिफिक सम्मेलनमा नेताहरुको संलग्नता किन ?


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठकमा एसिया प्यासिफिक सम्मेलनमा सरकार र पार्टीका नेताहरुको संलग्नताको विषयलाई लिएर चर्को आलोचना भएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा आज बसेको बैठकमा बोल्ने अधिकांश स्थायी समिति सदस्यहरुले केही समयअघि सम्पन्न उक्त सम्मेलनमा सरकारको लोगो प्रयोग गर्नुको कारणबारे प्रष्ट पार्न माग गरेका छन् ।

सरकारका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले यसबारे प्रष्ट पार्नुपर्ने उनीहरुको माग छ ।

उनीहरुले आगामी दिनमा अरु धर्मवालम्बीले गर्ने कार्यक्रममा सरकारको लोगो प्रयोग गर्ने कि नगर्ने ? भनी प्रश्नसमेत उठाएका छन् ।

बैठकमा वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र शिक्षामन्त्री गिरिराजमणी पोखरेलले आ–आफ्नो धारणा राखेका थिए ।

एसिया प्यासिफिक सम्मेलनमा भएको सहभागितालाई लिएर आलोचना भएपछि नेता नेपालले भोलि यसबारे जवाफ दिनेछन् ।

बैठकमा नेता खनालले सरकार र पार्टी अलोकप्रिय बन्दै गएकाले सच्चिन सुझाव दिएका थिए ।

गृहमन्त्री थापा र महासचिव पौडेलले भने सरकारको काम सन्तोषजनक भएको भन्दै बचाउ गरेका थिए ।

बैठकले दाङमा हिजो भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । मंसिर २९ गतेदेखी जारी स्थायी समिति बैंठक भोलि पनि बस्नेछ ।