नवराज सिलवालः प्रहरी निरीक्षकदेखि सांसदसम्म • Image Khabar Image Khabar


नवराज सिलवालः प्रहरी निरीक्षकदेखि सांसदसम्म


Imagekhabar
२५ मंसिर २०७४, सोमबार १२:३७

नवराज सिलवालः प्रहरी निरीक्षकदेखि सांसदसम्म

आफू प्रहरी महानिरीक्षकमा बढुवा नभएपछि सरकारको विरोधमा सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका सिलवालले अदालतबाट न्याय नपाए पनि जनताबाट न्याय पाएको महसुस गरेका छन् ।

सिलवालको मुद्दामा सकारात्मक देखिएको भन्ने आधारमा सत्ता पक्षले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग प्रस्ताव संसद दर्ता गराएपछि सिलवाल ‘सेलिब्रेटी’ बनेका थिए ।

प्रहरीमा रहँदा पनि बफादारिताका साथ काम गर्ने छवि बनाएका सिलवाल निर्वाचन पूर्व गत असोज २० मा नेकपा (एमाले) प्रवेश गरी क्षेत्र नं १ को उम्मेदवार बनेका थिए ।

वर्तमान अर्थराज्यमन्त्री उदयशमशेर राणालाई छ हजार २२२ मतान्तरले पराजित गरेपछि सिलवालको प्रत्यक्ष राजनीतिक यात्रा सहज देखिएको छ ।

सिलवालले २६ हजार ९५१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राणाले २० हजार ७२९ मत ल्याए । यस क्षेत्रमा ५१ हजार २४९ मत खसेको थियो ।

दोस्रो संविधानसभा निर्वाचन २०७० राणाले एमालेका पूर्व जिल्ला अध्यक्ष मधुसूदन पौडेललाई पराजित गरेका थिए ।

साढे दुई महिना पहिलेसम्म सिलवाल नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) थिए । अहिले उनको नयाँ परिचयसँगै दैनिकी नै एकाएक परिवर्तन भएको छ ।

एमाले र नेकपा (माओवादी केन्द्र) को साझा उम्मेदवारका रुपमा उनी एक महिनादेखि मत माग्न जनताका घरआँगनमा पुगे भने अहिले बधाई दिन र मतदातालाई धन्यवाद दिन व्यस्त छन् ।

चुनावी प्रचारका क्रममा उनी जनताका घरआँगन र खेतबारीमा पुगे । मंसिर महिना भएकाले बाली भित्र्याउन व्यस्त किसानको खेतबारीमा नै पुगेर उनले आफ्नो योजना सुनाएका थिए ।

एमालेबाट उम्मेदवार हुनु मतदाताका लागि नौलो भए पनि पूर्व प्रहरीका रुपमा उनलाई धेरैले चिन्दथे ।

राष्ट्रियरुपमा चर्चित व्यक्ति भएकाले उनलाई निर्वाचन जित्न सहज भएको निर्वाचन पहिले धेरैले अनुमान गरेका थिए ।

उनका उम्मेदवारी पार्टीको स्थायी कमिटीले लगाउँदा क्षेत्रीय कमिटीले स्वागत गर्नु उनका लागि जित्न सहज भइदियो ।

नवनिर्वाचित सांसद सिलवाल ५४ वर्ष पहिले जिल्लाको गोदावारीमा जन्मिएका हुन् । उनले प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरीे २९ वर्षसम्म कार्यरत रहे ।

सिलवालले प्रहरी सेवाबाट गत भदौ २७ मा राजीनामा दिएका थिए । उनी २०४४ सालमा प्रहरी निरीक्षकबाट सेवा शुरु गरेका हुन् ।

असोज २२ गते उनको राजीनामा स्वीकृत भएको थियो । त्यसको दुई दिन पहिले नै उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका थिए ।

सिलवाल जितेमा भावी गृहमन्त्री हुन सक्ने आँकलन गरिएकाले पनि उनको विजय निश्चित भएको मानिएको छ ।

सिलवाल नेपाली साहित्यमा नव सिलवालका रुपमा परिचित छन् । कथा, कविता, निबन्धलगायतका विधामा उनले कलम चलाउँदै आएका छन् ।

विकासका दृष्टिले पछाडि पारिएको आफ्नो क्षेत्रको पूर्वाधारहरुको विकासमा लाग्ने उनले बताउँदै आएका छन् ।

राजधानीसँगैको जिल्ला भएर पनि सडक, खानेपानी, सञ्चारको विकास यस क्षेत्रमा हुन सकेको छैन ।

आगामी पाँच वर्षमा पूर्वाधारको विकास, कृषिमा प्रविधि जोड्ने, शिक्षा र स्वास्थ्य सेवामा जनताको पहुँच बढाउने उनको प्राथमिकता छन् ।

गाउँमा नै रोजगारीको सिर्जना गरेर वैदेशिक रोजगारीमा जानेलाई रोक्ने र गएकालाई फर्काउनु उनको चुनावी एजेण्डा रहेका छन् ।

आफ्ना प्रतिबद्धता पूरा गर्ने र निर्वाचनका प्रतिस्पर्धीसँग मिलेर जाने उनले निर्वाचित भएपछि बताउँदै आएका छन् ।

उनले भने, “हामी मिलेर अघि बढ्दा मात्रै यस क्षेत्रमा विकासको लहर ल्याउन सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस्