
नेकपा एमाले र नेपाली कांगे्रसका उम्मदेवारले आफ्नो चुनावी प्रतिबद्धतामा नुवाकोटलाई नै ३ नम्बर प्रदेशको राजधानी बनाउने बताएका थिए । एमाले प्रदेशसभा सदस्य २ ‘क’ केशवराज पाण्डेले आफ्नो चुनावी घोषणापत्रमा त्यसलाई उल्लेख गरेका थिए ।
नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजयपछि यसलाई सदरमुकाम बनाएका थिए भने विसं १८५५ तिर गीर्वाणयुद्धविक्रम शाहका पालामा राजधानी बनाइएको थियो ।
हालसालै चितवन, मकवानपुर, काभ्रेपलान्चोक र भक्तपुरका राजनीतिक नेताहरुले ती क्षेत्रलाई ३ नम्बर प्रदेशको राजधानी बनाउने विचार व्यक्त गरेका थिए ।
नुवाकोट प्रतिनिधिसभा–२ बाट नवनिर्वाचित नारायणप्रसाद खतिवडाले चुनावी प्रतिबद्धतानुरुप नुवाकोटलाई प्रदेश राजधानी बनाउन सबै क्षेत्रबाट आवाज उठाइने बताए ।
प्रदेशसभा १ ‘ख’ सदस्य बद्री मैनालीले आफ्नै पहलमा जिल्लालाई राजधानी बनाउन प्रस्ताव गरिएको जिकिर गर्दै यसलाई सशक्त ढंगले उठाइने अठोट व्यक्त गरे ।
नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटा पनि नुवाकोटलाई प्रदेशको राजधानी बनाउन भौगोलिक अवस्था, पानी, बिजुली र यातायातका दृष्टिले उपयुक्त हुने बताउँछन् ।
जिल्लामा प्रशस्त बेंसी र टारहरु भएको, त्रिशूली, तादी र लिखुजस्ता नदीहरु रहेको, हाल १५० मेगावाट विद्युत उत्पादन भइरहेको र १५० मेगावाट थप बिजुली उत्पादन गराउन ‘पाइपलाइन’मा रहेको, केरुङ मार्ग, पासाङल्हामु मार्ग, बालाजु–त्रिशूली, थानकोट–गल्छी र टोखा–विदुर मार्ग प्रयोगमा आइरहेको, नुवाकोट भएर मध्यपहाडी मार्ग बनिरहेको र टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन भइसकेकाले नुवाकोट सबैतिरबाट पायक पर्ने उदाहरण दिए ।
‘केन्द्रीय राजधानीसँग जोडिएकाले पनि यसको सम्भावना उत्तिकै छ’ सापकोटाले भने, ‘जिल्लाका सबै दल, नागरिक समाज, उद्योग वाणिज्य संघ र बुद्धिजीवी पनि यसकै पक्षमा छन् ।’
प्रतिनिधिसभा सदस्य खतिवडाले जिल्लामा औद्योगिक क्षेत्र निर्माण गरिने, कृषि र स्वरोजगार विकास गरिने, चीन र भारतको पर्यटकीयस्थल बनाइने प्रतिबद्धता पनि व्यक्त गरे ।
वामपन्थी सरकार बनेपछि चीनको सहयोगमा नुवाकोट भएरै चीनबाट पोखरा, लुम्बिनी र काठमाडौं जान सकिने स्थिति आउने भएकाले त्यसबाट फाइदा लिनुपर्ने उनले बताए । ‘मेरो सोचाइ र योजना त नुवाकोटमा बौद्ध केन्द्र बनाई चीनका बौद्धधर्मालम्बीलाई एक दुई दिन बस्न मिल्ने वातावरण बनाउने रहेको छ’ एमाले नुवाकोटका अध्यक्ष पनि रहेका खतिवडाले भने ।
प्रदेशसभा सदस्य मैनाली नुवाकोटका पीपलटार वा चौघडामा औद्योगिक क्षेत्र बनाउन र दरबार क्षेत्र, फिकुरी, दुप्चेश्वर, वेत्रावतीलाई पर्यटकीयस्थल बनाउन आफ्नो पहल रहने सुनाए ।
व्यवसायी तथा पत्रकार सापकोटा चीनबाट आउने रेललाई खाली नपठाउन जिल्लामा निर्यातयोग्य वस्तुको उत्पादनमा जोड दिन्छन् । उनले नुवाकोट हावापानी र सम्पदाका दृष्टिले उपयुक्त भएको र तामाङ, नेवार, गुरुङ, मगर, शेर्पा, मुसलमान आदि जातिको बस्ती भएकाले समृद्ध रहेको बताउँदै त्यहाँ जलयात्रा, पदयात्रा र प्याराग्लाइडिङको पनि उत्तिकै सम्भावना भएको जानकारी दिए ।
‘नुवाकोटलाई ३ नम्बर प्रदेशको राजधानी बनाई त्रिदेशीय राजमार्गबाट फाइदा लिने परिस्थिति निर्माण गर्न एमालेसहितको वामपन्थी सरकारलाई हामी झक्झकाउनेछौँ,’ नवनिर्वाचित सांसदहरुले भने ।
प्रतिक्रिया दिनुहोस्