
काठमाडौं, असार १५ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत् गरेको सो विधेयक बहुमतले पारित गरिएको हो ।
बैठकले ‘आर्थिक विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
सो विधेयकमाथि यही असार १८ गते सोमबार छलफल हुने कार्यसूची तय गरिएको सभामुख कृष्णबहादुर महराले सदनलाई जानकारी गराए ।
यसैगरी, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ र ‘ऋण तथा जमानत (बाइसौं संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।
त्यसअघि, सांसदहरुले प्रस्तुत् गरेका विभिन्न मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्