१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बस दुर्घटनामा बेपत्ता तीनजनाको शव भेटियो


0
Shares

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेलापरेका हुन् ।

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाअनुसार बेपत्ता भएका अर्घाखाँची, सन्धिखर्क–९ का दुर्गाबहादुर कार्की, अर्घाखाँची, खन नगरपालिकाकी मनिषा थापा र गैंडाकोट नगरपालिका–३ का विकास रेग्मीको शव फेलापरेको हो ।

कार्की र थापाको शव घटनास्थलबाट केही तल तथा रेग्मीको शव मुग्लिनबाट नारायणगढतर्फ कालीखोला किनारमा फेलापरेको हो ।

सो दुर्घटनामा सातजना बेपत्ता भनिएकामा यसअघि सनाखत गरिएको भनिएका अमरबहादुर शाही नभइ नवराज बञ्जाडे रहेको प्रहरीले जनाएको छ ।

परिवारको निवेदनका आधारमा प्रहरीले बञ्जाडेसहित सातजना बेपत्ता भन्दै आएको थियो ।

बञ्जाडेका साथमा शाहीको परिचयपत्र भेटिएपछि सोही आधारमा सनाखत भनिएपनि सनाखत भएका व्यक्ति शाही नभएर बञ्जाडे भएको प्रहरीले जनाएको छ ।

शाही काठमाडौंमै सकुशल रहेको प्रनाउ ढकालले बताए ।

उनकाअनुसार परिवारको निवेदनका आधारमा अझै बेपत्ता भएकामा गैंडाकोट–३ की कोपिला पोखरेल, अर्घाखाँचीकी हुमकला राहुमगर र अर्घाखाँची, रौनामैनाका शंकर कुँवर छन् ।

बेपत्ता भएका अन्यको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीले जानकारी दिए ।

सो घटनामा मृतकको संख्या १० पुगेको छ । घटनामा २२ जना घाइते भएका थिए ।

लु२ख २९१ नम्बरको उक्त बस काठमाडौंतर्फ जाँदै गरेको ना६ख ४९७२ नम्बरको ट्रकमा ठोक्किएर अनियन्त्रित भइ सडकबाट त्रिशूलीमा खसेको थियो । रासस