Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


भूकम्पपीडितका नाममा १,३९५ ट्याक्सी दर्ता


0
Shares

यातायात व्यवस्था विभागले गत असार पहिलो साता आवेदन दिएका १ लाख ४९ हजार ५३६ पीडितमध्येबाट गोलाप्रथाबाट १५०० पीडित छनोट गरेको थियो ।

विभागले ट्याक्सी ल्याउने गोला जितेका तर घरधनीको निधन भएकाका परिवारले पनि ल्याउन पाउने निर्णय एक महिना अघि गरेको छ ।

भूकम्पपीडितको सूचीमा रही मृत्यु भएकाले वडा कार्यालयको सिफारिस ल्याए परिवारका अर्को सदस्यको नाममा ट्याक्सी ल्याउन सकिने यातायात व्यवस्था कार्यालय, सानाठूला सवारी वाग्मती, एकान्तकुनाका प्रमुख वसन्त अधिकारीले जानकारी दिए ।

सूचना नपाएका, मंसिर मसान्तसम्मको म्याद थाहा नपाएका, स्रोत जुटाउन नसकेका र विदेश रहेकाले अहिलेसम्म ट्याक्सी नल्याएको हुनसक्ने उनको भनाइ छ । ‘भूकम्पपीडितका नाममा आएका ट्याक्सीमध्ये आधाभन्दा बढी बिक्री भएको छ, पीडितले ल्याएको ट्याक्सी बेचबिखन गर्न नपाउने भन्ने कुनै कानूनी व्यवस्था छैन, उपत्यकाका बाहिर बस्नेले गोलाप्रथाबाट ट्याक्सी जित्दा यहाँ बसेर चलाउन पनि समस्या छ, त्यसैले अधिकांशले बेचेका हुन सक्छन’ कार्यालय प्रमुख अधिकारीले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भूकम्प अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, मकवानपुर, गोरखा, काभ्रेपलान्चोक, भक्तपुर, काठमाडौं, ललितपुर, धादिङ, नुवाकोट र रसुवाका पीडितलाई राहतस्वरुप १५०० ओटा ट्याक्सी ल्याउन स्वीकृति दिएको थियो ।

असारमा गोलाप्रथाबाट छनोट भएका पीडितलाई मंसिर मसान्तसम्म ट्याक्सी आयात गरिसक्न असार मसान्तमै सूचना निकालिएको थियो । बाँकी १०५ ट्याक्सी यो महिनाको अन्त्यसम्म दर्ता भइसक्ने कार्यालयले जनाएको छ । रासस