
काठमाडौंमा भएको दुई पक्षीय वार्ताले गत वर्ष कायम गरिएको प्रति क्वीन्टल मूल्य ५ सय ३१ रुपैंया २० पैसाबाट नघट्ने गरी उखुको न्यूनतम मूल्य कायम गरी उद्योग सञ्चालन गर्ने निर्णय गरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।
उनका अनुसार हाललाई गतवर्षकै मूल्यमा किसानले भुक्तानी लिने र माघ दोस्रो साता उद्योगी, किसान र सरकारका प्रतिनिधी बसेर मूल्य कायम गर्ने सहमति भएको हो ।
यो सहमतिसँगै अब तराईका चिनी उद्योगले उखु क्रसिङ थाल्ने भएका छन् । वार्तामा उद्योगीहरुले अरु देशबाट आउने चिनीमा सरकारले भन्सारवृद्धि गरे गतवर्षको भन्दा मूल्य बढाउन सहमति जनाएका छन् ।
मूल्य कायम भएपछि किसानलाई बढोत्तरी रकम दिने सहमति समेत भएको महासंघका अध्यक्ष मैनालीले बताए । लामो प्रयासपछि मूल्य कायम हुँदा तराईका उखु किसान खुशी भएका छन् ।
उनीहरु चिनी उद्योग सञ्चालन नहुँदा स्थानीय क्रसर उद्योगमा सस्तो मूल्यमा उखु बेच्न बाध्य भएका थिए ।
प्रतिक्रिया दिनुहोस्