सोमालियालीलाई खाद्यान्नको खाँचो • Image Khabar Image Khabar


सोमालियालीलाई खाद्यान्नको खाँचो


Imagekhabar
२९ मंसिर २०७४, शुक्रबार १८:१२

सोमालियालीलाई खाद्यान्नको खाँचो

सोमालियामा आगामी वर्ष सन् २०१८ मा ३० लाखभन्दा बढी नागरिकलाई मानवीय जीवन रक्षाकै लागि खाद्यान्न र अन्य अति जरुरी उपभोग्य बस्तुको खाँचो हुने राष्ट्रसंघले हालै सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

आन्तरिक द्वन्द्व, खडेरीलगायतका कारण नागरिकको आधारभूत आवश्यकताको उपलब्धतामा समस्या उत्पन्न भएको सो प्रतिवेदनमा देखाइएको छ । जसका कारण सोमालियाको ठूलो जनसंख्याले मानवीय सहयोगका लागि विश्व समुदायको भर पर्नुपर्ने अवस्था रहेको पाइएको छ ।

सोमालियाको मानवीय आवश्यकता समिक्षा समूहले केही समय पहिले जारी गरेको प्रतिवेदनमा अर्को वर्ष मुलुकको झन्डै आधा जनसंख्या अर्थात् ६२ लाख जनतालाई आधारभूत मानवीय सहयोगको खाँचो हुने जनाइएको थियो ।

संयुक्त राष्ट्रसंघको सोमालियाका लागि संयोजक पिटर डे क्लर्कले सोमालियामा खासगरी यहाँको आन्तरिक द्वन्द्व र खडेरी नै मानवीय सहायताका लागि मुख्य कारक मानिएको जानकारी दिएका छन् ।

सोमालियामा गएको चार वर्षसम्म आवश्यक मात्रामा वर्षा भएको छैन । कम वर्षाका कारण यहाँको द्वन्द्वबाट विस्थापित भएर बसेका नागरिकमा ठूलो समस्या उत्पन्न भएको छ ।

यसरी विस्थापित जनतामध्ये करिब एक तिहाईलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको राष्ट्रसंघको भनाई रहेको छ । यो आवश्यकता आगामी वर्ष झनै बढ्दै जाने छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्