७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024


४ रुपैयाँ प्रतिलिटरका दरले रामेछापमा पानी खरिद गर्दै सर्वसाधारण


0
Shares

अघिल्लो वर्षसम्म प्रतिलिटर २ रुपैयाँमा पानी किनेर प्रयोग गर्दै आएका यस ठाउँ र आसपासका मानिस ट्याक्टर व्यवसायीहरुले ढुवानी मुल्य बृद्धि गरेपछि प्रतिलिटिर ४ रुपैयाँमा पानी किनेर दैनिक व्यवहार चलाउन थालेका हुन् ।

ट्यांकर व्यवसायीहरुको विभिन्न बहानाबाजीसँगै गाउँमा चलेको पुनर्निर्माण अभियान र विभिन्न व्यवसायिक गतिविधिले पानीको खपतमा वृद्धि भएपछि आफुहरु पानीको प्रतिलिटर ४ रुपैयाँ तिर्न बाध्य भएको स्थानीय पदमकुमारी मानन्धरले बताइन् ।

उनका अनुसार पकरवासमात्र नभएर आसपासका भिरपानी, माकादुम, गाल्वा बजार लगायतका ठाउँमा पनि खानेपानीको चरम अभाव छ । समयमा वर्षा नहुनु र न्यून वर्षा हुनु लगायतका कारण यी ठाउँका पुराना खानेपानीको मुहानहरु अधिकांश सुकेका छन् । अन्य वैकल्पिक मुहान नभएका कारण पकरवास र आसपासका मानिसहरुले खानेपानीको लागि गाउँबाट १५ किलोमिटर टाढा रहेको तामाकोशी नदी र भटौली खोलाको पानीमा भर पर्नु परेको छ ।

अर्का उपभोक्ता भिमबहादुर खत्रीले पनि पानी अभावकै कारण गाउँमा संकटपूर्ण अवस्था सिर्जना भएको बताए । सामान्य व्यवहारदेखि बिहेवटौल, पुनर्निर्माण लगायतका सबैजसो कामका लागि ट्यांकरकै पानीको भर पर्नुपर्दा सर्वसाधारणलाई दैनिक जीवन गुजार्न नै समस्या भएको खत्रीले बताए ।

पानीको अभावका कारण परम्परागत रुपमा गाईबस्तु र बाख्रा पालन गर्दै आएका र व्यवसायिक रुपमा व्यवसाय शुरु गरेकाहरुले समेत काम छोड्दै आएका छन् । जसका कारण गाउँको उत्पादनमा कमी आउनुको साथै सर्वसाधारणको आयआर्जनमा समेत गिरावट आएको तितो अनुभव पनि भिमबहादुरले सुनाए ।

पकरवास आपसासका गाउँको अप्ठ्यारोलाई महसुस गरी स्थानीय अगुवाहरुको अगुवाई र खानेपानी डिभिजन कार्यालय मन्थलीको सहयोगमा पकरवासको रजगाउँ नजिकै इनारको व्यवस्था गरी तामाकोशी नदीको पानी लिफ्ट सिस्टममार्फत तान्ने वृहत खानेपानी योजनाको काम पनि युद्धस्तरमा भइरहेको छ । यसले पूर्णता पाएपछि साविकको पकरवास र भिरपानी, माकादुम गाविसमा समेत खानेपानीको समस्या हट्ने नागरिक अगुवा हिमाल ढुंगेलले बताए ।