Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


धनकुटालाई प्रादेशिक राजधानी बनाउन माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय घेराउ


0
Shares

एक घण्टासम्म नाराजुलुससहित जिल्लाबासीले क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरे । धनकुटाको मदनचोकबाट जुलुससहित गएका धनकुटाबासीले भौगोलिक रुपले समेत प्रादेशिक राजधानी धनकुटालाई नै बनाउन उपयुक्त भएको बताए ।
आन्दोलनको अगुवाइ धनकुटा उद्योग वाणिज्य संघ र नागरिक समाजले गरेका छन् ।

प्रादेशिक मन्त्रालयका लागि भौतिक संरचना र प्रशस्त सरकारी जमिन रहेकाले धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्नु पर्ने उनीहरुको माग छ । घेराउपछि धनकुटावासीले निमित्त क्षेत्रीय प्रशासक शेवन्त दाहालमार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै निमित्त क्षेत्रीय प्रशासक दाहालले जिल्लाबासीको मागलाई प्रधानमन्त्रीको कार्यालयमा जानकारी गराउने बताए । जिल्लाबासीले बुझाएको ज्ञापनपत्रमा धनकुटा ऐतिहासिक ठाउँ भएकाले यसको विकास र समृद्धिको लागि राजधानी आवश्यक रहेको उल्लेख छ ।

धनकुटामा ३ सय ९१ वटा सरकारी भवन, शहरी विकासको नाममा करिव ३ सय रोपनी जग्गा, विद्युत प्राधिकरणको दुई र धनकुटा नगरपालिका स्वामित्वमा ४८ हजार ६ सय ३५ रोपनी सार्वजनिक जग्गा छ ।