प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित • Image Khabar Image Khabar


प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित


Imagekhabar
३ पुष २०७४, सोमबार १६:१४

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

कुइरो लागेका कारण भद्र्रपुर, सिमरा, भैरहवा र धनगढीको उडान रद्द गरिएको त्रिअवी आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख परवेज आलम सिद्दिकीले बताए ।

गन्तव्य उडानका लागि विमानस्थल पुगेका यात्रु उडान रद्द भएपछि मर्कामा परेका थिए । बुद्ध, यति, श्रीलगायतका एयरलाइन्सले उडान रद्द भएकामा यात्रुसँग क्षमायाचनाको सन्चार गराइरहेका थिए ।

विमानस्थलबाट आन्तरिकतर्फ दैनिक करिब पाँच हजार यात्रु आवतजावत गर्ने गरेका छन् ।

आन्तरिकतर्फ हेलिकप्टरसहित (नेपाल वायुसेवा निगम, बुद्ध, यतिलगायत) १८ ओटा वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

यता अन्तर्राष्ट्रियतर्फ भने बढीमा आधाघन्टा आकाशमै अडिने (होल्ड) भए पनि नियमित उडान भइरहेको विमानस्थलले जनाएको छ ।

हाल ३० ओटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहानपख तराई क्षेत्रमा बाक्लो कुइरो लागे पनि अपराह्नतिर केही सुधार आएको छ ।

अहिले काठमाडौंलगायत पूर्वी तराई भेगमा आंशिक बदली रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

उनका अनुसार अझै केही दिन बिहान बाक्लो कुइरो लागे पनि दिउँसोतिर आंशिक बदलीको अवस्था रहेन अनुमान छ । सोमबार काठमाडौं उपत्यकाको न्यूनतम ४.६ र अधिकतम १९ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्