२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आन्दोलित म्यादी प्रहरीमाथि प्रहरीको लाठी प्रहार, ८ म्यादी घाइते


0
Shares

सरकारले खानामा म्यादीलाई पनि सिपाइसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षामा खटिने म्यादीलाई प्रहरीको सिपाइसरह खानाको रकम नलिएर अत्यधिक महँगो गरेको र ज्यामीको कामसमेत लगाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सदरमुकाम चरिकोटमा सोमबार आन्दोलित म्यादीमाथि प्रहरीले लाठी प्रहार गर्दा आठजना म्यादी घाइते भएका छन् । त्यस क्रममा म्यादी प्रहरी संगीता नेपाली गम्भीर घाइते भएको म्यादी प्रहरी राजन बस्नेतले बताए । अन्य सातजनाको अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले जनाएको छ ।

घाइते संगीतालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । म्यादीका अनुसार जिल्ला प्रहरी कार्यालयले आफूहरुको पारिश्रमिकबाट खाना खर्चको नाममा मनलाग्दी पैसा काटिदिएको छ ।

खाना खुवाएवापत प्रहरी जवानबाट प्रतिछाक रु ६० काटे पनि जिप्रकाले म्यादीबाट भने रु ९५ प्रतिछाक पैसा काटिदिएपछि आन्दोलनमा उत्रनु परेको म्यादी प्रहरी नेत्रकुमारी घतानीले बताइन् ।

त्यसैगरी, महिला म्यादीमाथि दुव्र्यवहार गरिएको गुनासो पनि उनीहरुले गरेका छन् ।

जिप्रकाले सुरक्षामा खटाउन छाडेर पुरुष म्यादीलाई पर्खाल लगाउनेसहितका ज्यामी काम लगाएको समेत उनीहरुको आरोप छ । आफूहरु अन्यायमा परेको भन्दै दोलखामा कार्यरत करिब ७५५ जना म्यादीले बर्दीको कपडा नै लगाएर सडकमा उत्रेका छन् । हाल जिल्ला प्रहरी कार्यालय दोलखाको कार्यकक्षमा म्यादी प्रहरीका १० जना प्रतिनिधि र प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीबीच वार्ता चलिरहेको छ ।

वार्ता निष्कर्षमा पुग्न सकेको छैन । प्रनाउ कार्कीले वार्ताबाट समस्या समाधान गर्ने बताउँदै जथाभावी आन्दोलन नगर्न म्यादीलाई आग्रह गरेका छन् । रासस